१३ बैशाख २०८१, बिहीबार

देशको पहिलो शक्ति एमाले नै हो: अध्यक्ष ओली

jumla

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन गरेपनि एमाले एक्लै देशको पहिलो शक्ति बन्ने बताउनु भएको छ ।

जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमाले देशकै पहिलो शक्ति बन्ने दाबी गर्नु भयो ।

स्थानीयतह मात्र नभई प्रदेश र सङ्घको निर्वाचनमा पाँच दलले गठबन्धन गरेपनि एमाले एक्लैले बहुमत ल्याउने उहाँले दाबी गर्नुभयो । आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेलाई मतदान गरेर समृद्ध नेपाल निर्माण अभियानमा हुन पनि उहाँले आग्रह गर्नुभयो ।

नेपालको विकास गर्ने एकमात्र पार्टी नेकपा एमाले भएकोले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि एमाले एक मात्र विकल्प भएको अध्यक्ष ओलीको भनाई छ । उहाँका अनुसार देशलाई औद्योगीकरणमा लैजानु छ । स्वास्थ्य शिक्षा क्षेत्रमा विकास गर्नु छ । ‘समग्र नेपालको विकास एमालेले मात्र गर्न सक्छ । एमाले विना नेपालको विकास सम्भव छैन ।

अध्यक्ष ओलीले जुम्ला सिँजाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको समेत बताउनुभयो । आगामी निर्वाचन पछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउने छौ । नजिकै बग्ने हिमा दिनबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा समेत गम्भीर चासो राख्ने छौँ । विद्युत्, टेलिफोन टावर, विद्युतको ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन जोड दिने उहाँको भनाई छ ।

जुम्ली मार्सीको चर्चा
पूर्वप्रधानमन्त्री ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थिति अनुसार गर्न सक्ने बताउनुभयो । सिंजाको विकास र समृद्धिका लागि आफु कटिबद्ध रहेको भन्दै जुम्लाको मार्सी,स्याउ सिमीको संरक्षणमा जोड दिनुभयो ।

कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरी लगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले उत्पादन शुरु गरेको मार्सी चामल नेपालको ओरजिनल ब्राण्ड भएकोले उत्पादन वृद्धिमा लगानी बढाउनु पर्ने उल्लेख गर्नुभयो ।

बिहीबार जुम्ला आउनु भएको अध्यक्ष ओलीले जुम्लाको नराकोटमा सिमीको दाल र मार्सी चामल भात खानु भयो । उहाँले भन्नुभयो,“पहिले एक पटक मार्सी चामल खाएको थिए । निकै चर्चा चल्यो । अहिले त झन् सिँजामै पुगेर मार्सी चामलको भात र सिमीको दाल खाएको छु । हिमनदीको निकै स्वादिष्ट माछा खाएको छु । यहाँ उत्पादित अर्ग्यानिक आलुको तरकारी खाएको छु । वास्तवमा यहाँका खाना शुद्ध र शक्तिवर्द्धक छ । संसारमा सबैभन्दा मिठो माछा सायद जुम्लामै पाउँछ होला । यहाँको रैथाने बाली प्रर्बद्धनमा तीन तहका सरकारको लगानी हुनुपर्छ ।”

सरकारमा हुँदा नेकपा एमालेले ल्याएका योजना गठबन्धन दलहरू कटौती गरेर ढाँट्न खोज्दै छन् । सजग हुनु होला । अध्यक्ष ओलीले भन्नुभयो,‘सिँजा उपत्यका पालिका एमालेमय हुनुपर्छ । एमाले बलियो र जित्नका लागि होइन । एमाले जित्नै पर्छ । नत्र समृद्ध नेपाल सुखी नेपालीको सपना सफल हुँदैन ।’

यहाँका जनताले सुविधा, शिक्षा, स्वास्थ्य, आधुनिक कृषि र उद्योगको विकास गरेर कृषिले बजार प्राप्त गर्न व्यावसायिक र सीप विकास तालिम दिन एमाले प्रतिबद्ध भएको बताएका थिए । अध्यक्ष ओलीले जुम्लामा स्याउ राम्रो फल्छ । यहाँको खरायोको टोपी पनि मार्सी चामल जस्तै निकै प्रख्यात छ । राम्रो राडी पाखी बन्छ । स्थानीय उत्पादन र बजारीकरणका लागि फेरी पनि सरकारमा एमाले नेतृत्व आउनु पर्नेमा जोड दिनुभयो ।