१६ चैत्र २०८०, शुक्रबार

जुम्ला पुगेर ओलीले भनेः नेकपा एमालेमा जनताको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको छ

jumla

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन् ।

‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु, उनले भने, केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं ।

जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने ओलीले बताए । उनले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताए । उनले मार्सीचामल नेपालको ओरजिनल ब्रान्ड भएको दाबी गरे ।

अध्यक्ष ओलीले जुम्ला सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिजा हेर्ने र विकास कसरी गर्नसकिन्छ भनेर आफै पुगेको छु, उनले भने, आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ ।

नजिकै बग्ने हिम नदीबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा समेत गम्भीर चासो राखेको उनले बताए । विद्युत, टेलिफोन टावर, विद्युत्को ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन एमालेको ध्यान केन्द्रित हुने उनले बताए ।

नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको ओलीले दाबी गरे । उनले अहिले सरकार जनतालाई ढाँट्ने धाउन्नमा रहेको बताए ।