१२ बैशाख २०८१, बुधबार

नेपालद्वारा पीएनजीलाई २०४ रनको विजयी लक्ष्य

cricket nepal

दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगीनी (पीएनजी)लाई २०४ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको छ । नेपालका लागि ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हान्नुभयो । रोहित पौडेलले ४१ रन बनाउनुभयो । रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाउनुभयो । अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्नुभएको हो । अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट हुनुभयो । बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिनुभयो ।

नेपाल यस खेलमा पीएनजीलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने योजनामा छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । यसअघि लगातार दुई खेल जितेको नेपाल चार अंक सहित शीर्षस्थानमा छ । आज पीएजीलाई हराएमा नेपाल ६ अंक जोड्दै फाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार दुई खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन । मलेसिया दुई अंक सहित दोस्रो स्थानमा छ । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।