७ जेष्ठ २०७९, शनिबार

नयाँ-नयाँ संकट थपिँदै अर्थतन्त्रमा, अर्थमन्त्री हावादारी काममा गफ गर्दै

janardhan sharma
फाइल फोटो

चालू आर्थिक वर्षको शुरुदेखि नै प्रत्येक महिना मुलुकको अर्थतन्त्रमा नयाँ–नयाँ संकट थपिँदै गएको छ । कोरोनाले थलिएको अर्थतन्त्र सुधार हुनेभन्दा पनि झन नकारात्मक बन्दै गइरहेको छ ।

तालुकदार मन्त्रालयका मन्त्री जनार्दन शर्माले अर्थतन्त्र उकास्ने योजनामा काम गर्नुभन्दा पनि हावादारी काम गर्दै हिड्नुभएको छ । यतिबेला अर्थ मन्त्रालय योजनाविहीन छ ।

अहिले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । कोरोना महामारीले अर्थव्यवस्थाका यावत सूचकहरु निराशाजनक छन् । तर, अर्थमन्त्री जनार्दन शर्माको कार्यशैली योभन्दा निराशाजनक देखिन्छ । अर्थमन्त्री नियुक्त भएयता शर्माका अभिव्यक्ति र क्रियाकलापलाई नियाल्ने हो भने उहाँको अनभिज्ञता सर्वत्र छरपष्ट देखिन्छ ।

उहाँ अर्थव्यवस्थालाई कसरी सही दिशा दिनेभन्दा पनि कर्मचारीको सरुवा–बढुवामा बढी केन्द्रित भएको देखिएको छ । गर्भनरसँगको टसल र नेपाल राष्ट्र बैंकको माइक्रोम्यानेजमेन्टमा रुची देखाउँदै आउनुभएको छ । उहाँको कार्यकालमा अर्थतन्त्र घाटामा छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको चालू खाता ४७ अर्ब ९० करोड रुपैयाँ घाटामा थियो । मुलक भित्र्ने र बाहिरिने रकमबीचको अन्तर देखाउने शोधनान्तर स्थिति पनि ३८ अर्ब ७५ करोड रुपैयाँ मात्र घाटामा थियो । १३ खर्ब ५३ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चित थियो । तर त्यसपछिका हरेक महिना निरन्तर घटेर चालू वर्षको सात महिनासम्म आइपुग्दा चालू खाता घाटा बढेर ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

शोधनान्तर घाटा पनि बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगिसकेको छ भने विदेशी मुद्राको सञ्चितीति११ खर्ब ७३ अर्बमा झरेको छ । साउनमा रहेको सञ्चितिले ९ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो । तर अहिलेको मुलुकमा रहेको सञ्चितीले ७ महिनाको पनि आयात धान्दैन । सात महिनामा व्यापारघाटा ११ खर्ब नाघिसकेको छ । यही रफ्तारमा बढ्ने हो भने यो वर्ष व्यापारघाटा १७ खर्ब रुपैयाँ नाघ्ने निश्चित छ ।

अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स पनि वर्षको शुरुदेखि नै निरन्तर घटिरहेको छ । पूँजीगत खर्च कम हुँदा बैंकिङ प्रणालीमा साउनदेखिनै तरलताको अभाव छ । आर्थिक वर्षको ९ महिना सकिनै लाग्दा पूँजीगत बजेट २३ प्रतिशत मात्र खर्च भएको छ । कोरोना महामारीले थलिएको अर्थतन्त्र पुनरुत्थानभन्दा पनि झन नकारात्मक बन्दै गएको छ।

महंगी पनि हरेक महिना बढिरहेको छ । सरकारी ऋण अर्थतन्त्रको ४० प्रतिशत नाघेको छ । आर्थिक वृद्धि तीन प्रतिशत पनि नकट्ने चिन्ता देखिएको छ । यसरी अर्थतन्त्र संकटको डिलमा पुगिसक्दा पनि त्यसको सुधारका लागि अर्थमन्त्रालय योजनाविहीन छ । वर्षको शुरुदेखि नै नकारात्मक बन्दै गएको अर्थतन्त्र अझै पनि सुधारको बाटोमा नफर्कनुमा अर्थमन्त्री शर्माको अपरिपक्कता र राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगसँगको समन्वय अभावलाई प्रमुख कारण मानिएको छ ।

आर्थिक वर्ष शुरु हुन अघि अर्थात असार २९ गते नै मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री शर्माले अहिलेसम्म अपेक्षाकृत क्षमता देखाउन सक्नु भएको छैन् । हरेक महिना १० प्रतिशत पुँजीगत बजेट खर्च गर्ने लक्ष्य कुनै महिना हाँसिल नहुँदा पनि यसबारे गफ दिन छाड्नु भएको छैन् । यतिमात्र होइन प्रणालीलाई नै विश्वास नगरी जिम्मेवारी सम्हालेदेखि नै आफु अनुकुल कर्मचारी नियुक्तिमा उहाँको निकै रुची देखिन्छ ।

हरेक सरकारको सफलता र असफलताको मानक मानिने अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका शर्माले यो बीचमा देखाउन लायक र सुधारोन्मुख काम गर्नै सकेका छैनन् । अब त मन्त्री र उहाँको टिमलाई आगामी आर्थिक वर्षको बजेट निर्मााण्को चटारो शुरु भइसकेको छ । हरेक भाषणमा अर्थतन्त्र कसरी सुधर्ने भन्दा पनि कस्तो बजेट बनाउने भन्नेमा जोड देखिन्छ । त्यसैका लागि मन्त्रालयले पनि छलफल चलाइरहेको देखिन्छ । यसले अर्थतन्त्रमा थप संकट ल्याउने निश्चित छ ।