८ बैशाख २०८१, शनिबार

सपना बाड्ने खेल सुरु !

all party

स्थानीय तहको निर्वाचन नजिकिएसँगै फेरि सपना देख्ने र देखाउने होडबाजी चलेको छ ।

राजनीतिक नेतृत्व सपना र आश्वसनका पोको बाँकेर गाउँ पसेका छन् । जसले झण्डै पाँच वर्षसम्म विछोडिएको नेता र जनताको सम्बन्धको पुनराबोलकन हुँदैछ ।

२०७४ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सपना बेचेकै कारण झण्डै बहुमत ल्याएर तीन बर्ष सरकारको नेतृत्व गरे । निर्वाचनमा बाँडेका सपना कति कार्यान्वयन भए, कति फगत कल्पनामा सीमित भए पाँच बर्षका लागि सरकार थाम्ने जिम्मा पाएका उनी तीन बर्षमै ढलेपनिसबैले मूल्यांकन गरेकै विषय हो ।

आगामी तीनै तहको निर्वाचनमध्येबैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्र डेढ महिना बाँकी छ ।फेरि सपना किनबेच र झुट्टा आश्वासन बाड्ने नेता गाउँ पसेका छन् । कसले कति सपना बाड्ने र निर्वाचन जित्ने भन्ने होडबाजी नै चलेको छ ।

तत्कालिन नेकपाले भान्सा–भान्सामा ग्यासको पाइपलाइन, केही महिनामै पानीजहाज,केही बर्षमै केरुङ–काठमाडौं रेल, र काठमाडौंमा मेट्रो रेल र मोनो रेल चल्ने सपना बाँडेको थियो । जुन योजना सुरु नै भएनन् । त्यही सरकारका मन्त्रीहरु पनि के कम ।

तत्कालिन उद्योगमन्त्री अहिले माओवादी नेता मातृका यादवले झापादेखि बंगलादेशसम्मै सुरुङमार्ग निर्माण निर्माणको सपना देखाए । तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले पाँचबर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र सिधैं अमेरिका उडान भर्ने अनि बर्षमा १ करोड पर्यटक भित्र्याउने हावादारी सपना बाँडे । पार्टीको घोषणापत्रमा यस्ता सपना बाँडेका नेताहरुलाई नै जनताले चुनाव जिताए ।

गच्छे अनुसारको सपना बाड्ने खेल सबै पार्टीले चलाएका थिए । सपना पनि आकर्षक हुनुपर्छ भन्ने बुझेपछि अहिले सबै दल आश्वसनले भरिएकाफुटबुट्टे घोषणा पत्र लेख्न दिनरात लागिपरेका छन् ।

राजनीतिको उद्देश्य भनेका सपना बाँडने र सपना बाँडेकै भरमा चुनाव जित्ने भइरहेको छ । लाखौं बेरोजगार युवा शक्ति खाडीमा पसिना बगाएर सपना किन्न देशबाट बाहिरिएको छ । नेता गाउँ पसेँर सपना देखाइरहेका छन् । अवस्था यही रहेकुनै दिन यस्तो आउँनेछ, नेता सपना देखाउने गाउँ पस्ने छन्, गाउँ रित्तिएको हुनेछ ।

सचेत जनतालाई एकपटक मूर्ख बनाउन सकिन्छ, सधैं बनाउन सम्भव छैन । फलतः जनतालाई मूर्ख ठानेर झुटा सपना देखाउने नेताबाटै शासित हुनुपर्ने हाम्रो नियती बदल्न जनता जागरुक हुन आवश्यक छ । त्यसका लागि यही निर्वाचनै नै अवसर हुनसक्छ ।