८ बैशाख २०८१, शनिबार

मिश्रित धारणा गठबन्धनबारे कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा

congress

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा धारणा राख्नुहुने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा मिश्रित धारणा राख्नुभएको छ ।

आजको बैठकमा पनि केहीले निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने धारणा राख्नुभयो भने केहीले गठबन्धन स्थानीय आवश्यकता अनुसारको हुनुपर्नेमा जोड दिनुभएको पार्टीका सह महामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टी सभापति शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेलले पनि धारणा राख्नुभएको र उहाँहरूले विशिष्ट परिस्थितिमा निर्माण भएको गठबन्धन भएकाले त्यसको निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको पनि सह महामन्त्री पाण्डेले बताउनुभयो ।

सह महामन्त्री पाण्डेले केन्द्रीय कार्यसमितिको बैठक चैत्र १५ गते मङ्गलवार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने र त्यसपछि बैठकका निर्णयहरू सार्वजनिक गरिने बताउनुभयो ।

आजको बैठकमा पार्टी सभापतिसँगै नेता रामचन्द्र पौडेल, उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्रीहरू र बाँकी केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।