१३ बैशाख २०८१, बिहीबार

मुख्य प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग, साइजमा ल्याउन चुनावी गठबन्धन गरेरै जाने मत बलियो

congress

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । शुक्रबारबाट बसिरहेको बैठक सोमबार सकिने अपेक्षा गरिएको थियो । तर, बैठक फेरि एक दिन लम्बिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भोलि ३ बजे बस्ने बैठक गठबन्धनबारे निर्णयमा पुग्ने जनाउनु भएको छ । कांग्रेसको जारी बैठकमा गठबन्धनको पक्ष र विपक्षमा कांग्रेसका केन्द्रीय नेताहरु विभाजित भएका छन् । कांग्रेसको मुख्य प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हुने प्रारम्भिक अनुमानहरु भइरहँदा सत्ता गठबन्धनका दलहरुबीच चुनावी गठबन्धन गरेर उसलाई ‘साइज’मा ल्याउनु पर्ने मत पनि बलियो छ ।

कांग्रेसको जारी बैठकमा नेताहरुले गठबन्धनको पक्ष र विपक्षमा विभाजित हुँदा मंगलबारको बैठकबाट कस्तो निर्णय आउँछ भन्ने विषयलाई प्रमुख राजनीतिक दलहरुले चासो पूर्वक हेरिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आकलन गरिएको छ ।

देउवालाई छैन सहज

नेकपा मा‌ओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ पाएर गत प्रतिनिधि सभा निर्वाचनमा कमजोर सिट संख्याका बाबजुद पनि प्रधानमन्त्रीको कुर्सी ुचिट्ठाु मा पाएका कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्नु पर्ने पक्षमा हुनुहुन्छ । तर, देउवा पक्षकै कतिपय नेता र सभापतिमा देउवासँग पराजित शेखर कोइराला पक्ष भने गठबन्धनको विपक्षमा रहेको छ । यसले गर्दा गठबन्धन गर्ने देउवाको चाहना सहजै बैठकबाट अनुमोदन हुने सम्भावना भने न्यून देखिएको छ ।

बैठकमा देउवा पक्षका नेताहरु गठबन्धनको पक्षमा देखिएका छन् भने इतरपक्षले गठबन्धनको बिरोध गरिरहेको छ ।

नेता शेखर कोइरालाले सोमबारको बैठकमा केन्द्रबाट गठबन्धन लाद्न नमिल्ने तर्क गर्नुभयो । ‘गठबन्धन माथिबाट गर्ने तर, तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छरु हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। ‘केन्द्रबाट गठबन्धन लाद्‌ने कुरा नगरौ’ बैठकमा उहाँले भन्नुभएको थियो । कोइरालाले सभापति देउवामा माओवादी मोह देखिएको र यसले गर्दा गठबन्धन लाद्न खोजिएको आरोप लगाउनु भएको थियो ।

देउवाले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेखको जिम्मेवारी दिएका गगन थापासमेत गठबन्धनको विपक्षमा उभिनु भएको छ। थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताउनु भएको छ। आफू गठबन्धनको विपक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो। उहाँले रुखमा मतदान गर्ने कार्यकर्तालाई हँसिया-हथौडा र कलममा मतदान गर्न भन्न नसक्ने बताउनु भएको थियो। यसरी रुख बाहेकमा भोट हाल्न कार्यकर्तालाई बाध्य पारिँदा भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के हुन्छ भन्दै उहाँले प्रश्न गर्नुभएको थियो । तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्नु पर्ने बताउनु भएको थियो ।

कांग्रेसका सात मध्य पाँच प्रदेश प्रमुखहरुले समेत मतदाता गठबन्धनको विपक्षमा रहेको ‘ग्राउण्ड रियालिटी’ बारे यसअघि नै ब्रिफिङ गरिसकेका छन् । अधिकांश नेता कार्यकर्ता गठबन्धनको विपक्षमा हुँदा देउवा एक्लैले गठबन्धनको पक्षमा निर्णय गराउँदा यसले कांग्रेसमा मात्र नभइ यदी गठबन्धन भएमा पक्षमा दिइने मतमा समेत प्रभाव पार्ने कतिपयको आँकलन छ ।

प्रधानमन्त्री बन्ने बेलैमा गठबन्धनको सहमति

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन गर्नु पर्ने बाध्यताबारे बैठकमा सुनाउनु भएको थियो । उहाँले सत्ता गठबन्धन बन्ने बेलैमा चुनावसम्म गठबन्धन गर्नेबारे सहमति भइसकेको भन्दै गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

सत्ता गठबन्धन बन्ने बेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेकाले पनि अहिले त्यसबारेमा झगडा गर्न आवश्यक नभएको उहाँको भनाइ छ । ‘यो सत्ता गठबन्धन हुनेबेलामा नै चुनावी गठबन्धन गर्ने सहमति भइसकेको थियो । त्यसैले अहिले गठबन्धन गर्ने कि नगर्ने भनेर झगडा नगरौं ।’ उहाँले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको भन्दै त्यसलाई रोक्न पनि गठबन्धनको विकल्प नभएको बताउनु भयो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने तर्क गर्नुभएको छ । उहाँले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत दिएर भए पनि एमालेलाई ुसाइजुमा ल्याउनु पर्ने बताउनु भयो ।

प्रवक्ता महतले भने पार्टीमा फरक मत आए पनि आवश्यकताका आधारमा चुनावी गठबन्धन गरिने दाबी गर्नुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘आजसम्म सबैले धारणा राख्ने क्रम सकियो । अधिकांश नेताहरूले गठबन्धन गरेरै चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ । बैठकमा केही फरक मत आएका छन् । तर धेरै जना साथीहरूको धारणालाई ध्यानमा राख्दै आवश्यकताको आधारमा गठबन्धन गरेर जाने निर्णय हुन्छ ।’

माओवादी र समाजवादीलाई चासो

कांग्रेस बैठकले गर्ने निर्णयमाथि माओवादी केन्द्र र समाजवादीले चासो राखिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले स्थानीय तहमा आफूहरुको उपस्थितिको ‘साइज’ मा फरक पर्ने आकल गरेका ति दलले कांग्रेसले गर्ने निर्णयले समग्र मत परिणाममा असर गर्ने जनाइरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनावी गठबन्धन प्रतिनिधि सभाको चुनावसम्मै रहने बताइसक्नु भएको छ ।

एकीकृत समाजवादीका नेताहरुले कांग्रेसले गठबन्धनको पक्षमा निर्णय गर्ने अपेक्षा गरेका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले औपचारिक निर्णय नभए पनि पक्षमा नै निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।