१४ बैशाख २०८१, शुक्रबार

कार्यकर्ताले तालमेल चाहेका छैनन्, केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले मान्नु पर्छ भन्ने हुँदैन: बलायर

barayar

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए ।

‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भने, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताए ।

‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नु पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुने छ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’

पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाए । पार्टीको केन्द्रीय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हाल सम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उनले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताए ।

‘केन्द्रदेखि प्रदेश सम्म पाँच दलीय गठबन्धनको तालमेल भनिएको छ,’ उनले भने, ‘तर हाम्रो प्रदेशमा कांग्रेसलाई बाहिर राखेर दुई दलको एकलौटी छ, कांग्रेसले उनीहरूलाई चुनाव जिताउन मात्रै किन तालमेल गर्ने ?

उनले दुईदलको मनमानी यस्तै भए प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता दिने दाबी समेत गरेका छन् । सभापति बलायरले यसअघि पनि पटक–पटक सुदूरपश्चिममा कसैसँग चुनावी तालमेल नहुने बताइसकेका छन् ।

बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए । ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं,’ उनले भने, ‘हामी कार्यकर्ताको भावना अनुसार अघि बढ्ने छौं ।’