८ बैशाख २०८१, शनिबार

क्यानडा तयार तेलको अभाव पुरा गर्न

canada

क्यानडाले आइतबार विश्वमा हाल बढिरहेको ऊर्जा समस्या समाधानका लागि आफूले थप परिमाणमा तेल, ग्यास र युरेनियम उपलब्ध गराउन सक्ने जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरिरहेका कारण रुसी तेल र ग्यास आपूर्तिमा कटौती भइरहेकाले अहिले विश्व बजारमा यी वस्तुको मूल्यवृद्धि भइरहेको छ ।

क्यानडाको प्राकृतिक स्रोतमन्त्री जोनाथन विल्किन्सनले बीबीसीलाई बताएका छन्, “रुसी तेल र ग्यासको आपूर्ति रोकिएका कारण सिर्जित समस्या समाधानका लागि मद्दत गर्न थुप्रै मुलुक तयार छन् । हामी प्रतिदिन थप दुई लाख ब्यारेल तेल र एक लाख ब्यारेल प्राकृतिक ग्यास उपलब्ध गराउन तयार छौँ ।”

क्यानडा सबैभन्दा बढी तेल उत्पादन गर्ने विश्वको चौथो मुलुक हो । फ्रान्सको राजधानी पेरिसस्थित अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)मा विश्वका ऊर्जामन्त्रीहरूको बैठकमा आफ्ना गठबन्धन मुलुकहरूले गरेको अनुरोधपछि क्यानडाले यसरी स्वच्छ ऊर्जा आपूर्ति बढाउने सहमति व्यक्त गरेको हो ।

विल्कन्सनले यसै वर्षको उत्तरार्द्धसम्ममा थप आपूर्ति तीन लाख ब्यारेल पुर्‍याउने आशा गरेको पनि बताएका छन् । अहिले क्यानडाका पाइपलाइनहरू झन्डै पूर्ण क्षमतामा सञ्चालित छन् ।

रुसमाथि तेल प्रतिबन्ध लगाउने मामिलामा क्यानडा अमेरिका र बेलायतसँगै उभिन पुगेको थियो । युक्रेन युद्ध सुरु भएयता प्रतिब्यारेल तेलको मूल्य बढेर १३० अमेरिकी डलरसम्म पुगेको छ ।