८ बैशाख २०८१, शनिबार

ठाकुर नेतृत्वको लोसपालाई पनि सरकारमा समावेश गराउने देउवाको तयारी, प्रचण्डको भने असन्तुष्टि

deuba mahantha

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन्। यसबीच उनीहरुबीच निरन्तर संवादसमेत भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ। भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ। प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ।

लोसपा नेता डा.सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर संवाद गरिरहेको बताए। त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए।

सरकारमा सहभागी हुनुअघि लोसपाले केन्द्रीय कार्यकारिणी बैठकसमेत डाकेको छ। चैत १६ गते बस्ने बैठकमा सरकारमा सहभागी हुनेबारे निर्णय हुनसक्ने बताइएको छ।

सत्ता साझेदारी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने लोसपालाई सरकारमा ल्याउने विषयमा असहमति जनाएका छन् । जनता समाजवादी पार्टी सरकारमा भएको अवस्थामा लोसपालाई सरकारमा ल्याउन पर्ने आवश्यक नरहेको प्रचण्डको बुझाई छ ।

यता देउवा भने प्रचण्डको असन्तुष्टिकै बावजूद जसरी पनि लोसपालाई सरकारमा ल्याउन चाहन्छन्। देउवा आफू भारत भ्रमणमा जानु अघि लोसपालाई पनि सरकारमा समावेश गराउन चाहन्छन् । देउवा चैत १८ गते भारत भ्रमणमा जाँदै छन् ।