१२ जेष्ठ २०७९, बिहीबार

फिनिसिङको काम बाँकी छँदै चीनले किन गर्‍यो पोखरा विमानस्थल हस्तान्तरण ?

china nepal pokhara airport

पोखरामा निर्माण भैरहेको विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलका चावी हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा यीले सुनको चावी खड्कालाई दिनुभयो । नेपालको तीन दिने भ्रमणमा रहनु भएको यीको उपस्थिति भएको अवसर पारेर निर्माण कम्पनीले विमानस्थल सरकारलाई सुम्पिएको हो ।

विमानस्थलको ७ प्रतिशत निर्माणको काम बाँकी छ । ‘मेजर काम पूरा भयो । तर सबै काम सकिएको होइन,’ आयोजना प्रमुख विनेश मुनन्कर्मीले भन्नुभयो, ‘सांकेतिक रुपमा चावी हस्तान्तरण गरिएको हो । पूरै प्रोजेक्ट सकिएको होइन ।’ उहाँले चावी हस्तान्तरणपछि पनि निरन्तर काम भइरहने बताउनु भयो ।

खासगरी डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी छ । प्रधानमन्त्री निवासमा चावी हस्तान्तरणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पोखराबाट भन्नुभाये, ‘अब पोखरा र नेपालको विकासको ढोका खुल्यो । यो विमानस्थल बनेर मात्र हुँदैन, सकेजति प्रयोग गर्नुस् ।’ पर्यटन व्यवसायीहरुलाई लगानी बढाउन र तारे होटल थप्न उहाँको आग्रह छ ।

चिनियाँ निर्माण कम्पनी सिएएमसीईका अध्यक्ष ली आईसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हव बन्ने बताउनु भयो । ‘विगत केही वर्षको मेहनतपछि पोखरेली जनताले दशकौंदेखि प्रतिक्षा गरिरहेको एयरपोर्ट अन्ततः पूरा भएको छ र चाँडै सन्चालनमा ल्याइनेछ,’ उहाँले भन्नुभयो, ‘विमानस्थल चलेपछि पर्यटन र आर्थिक विकासलाई टेवा पुग्नेछ ।’

२२ मे २०१४ मा सिएएमसीईले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो । अप्रिल २०१६ मा शिलान्यास भएको थियो । तर, लोन प्रक्रियाका कारण निर्माणको चरणमा जान एक वर्ष लाग्यो । २०२० को कोभिड भाइरसका कारण निर्माणमा असर पुग्यो । ५ वर्षपछि निर्माण सकेर सन्चालनमा ल्याउन लागिएको छ ।

पोखरा विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग छ । विभिन्न १४ वटा भवन निर्माण भएका छन् । करिब २२ अर्ब लागतमा निर्माण हुन लागेको विमानस्थलको खर्च चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरेको हो ।

तर तीन हजार मिटरको धावन मार्ग रहेको भइरहवा विमानस्थलको लागत सात अर्ब मात्रै लागेकोले पोखराको एयरपोर्ट महंगो भएकोमा धेरैको चिन्ता र चासो देखिन्छ ।

आउँदो १० जुलाईमा विमानस्थलको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । यसअघि गएको १० जुलाईमै हस्तान्तरण गर्ने तयारी गरिएकोमा कोरोना संक्रमणका कारण एक वर्ष ढिलो भएको हो ।

विमानस्थलबाट आगामी वैशाखमा परीक्षण उडान गर्ने तयारी छ । तर, त्यसका लागि आवश्यक काम भने पूरा भएका छैनन् । निर्माण कम्पनीले चावी हस्तान्तरण गरेपछि नेपाल सरकारले कम्पनीलाई कदर पत्र दिएको छ ।