१५ चैत्र २०८०, बिहीबार

मूल नेता एमाले बनाउने म हुँ, ओलीले कब्जा मात्र गरेका हुन् : माधव नेपाल

madhav

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमाले पार्टी कब्जा गरेको आरोप लगाउनु भएको छ ।

एकीकृत समाजवादी गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले पार्टी आफुहरुले बनाएको तर केपी ओलीले कब्जा गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले बनाउने मूल नेता म हो । केपी ओलीले पार्टी कब्जा मात्रै गरेका हुन् ।’ ओलीले पार्टीमा सम्पूर्ण जीवन लगाएका नेताहरुलाई अपमान गरेको उहाँको आरोप थियो ।

अध्यक्ष नेपालले आउने चुनावमा ओलीलाई धुलो चटाउने बताउनुभयो । नेता नेपालले आउने चुनावबाट ओलीलाई वडा–वडामा, पालिका–पालिकामा धुलो चटाउने दाबी गर्नुभयो ।

‘ओलीकै अंहकारकै कारण दुई तिहाइको सरकार केन्द्रबाट, प्रदेशबाट, निकालियो ।’ केपी ओलीले षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप लगाउँदै नेता नेपालले आफुहरुले विद्रोह गर्नुपरेको बताउनुभयो ।

उहाँले केपी सत्ता र शक्तिमा रहँदा निरङकुश प्रवृत्ति देखाएका कारण गठबन्धनकै माध्यमबाट निरङकुश प्रवृत्तिको विरुद्ध लड्ने बताउनुभयो । संसद भंग गरेर जनताको विश्वास माथि कुठराघात गरेको बताउँदै उहाँले ओली प्रवृत्ति विरुद्ध विद्रोह गर्नुपरेको उल्लेख गर्नुभयो ।

नेता नेपालले पार्टीमा योगदान गरेको नेताहरुलाई मिलेर साथमा लिएर गएको भए अहिलेको अवस्था नआउने स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘इतिहासमा त्यस्ता पात्रहरू जन्माउँदो रहेछन् । दक्षिणपन्थी प्रवृत्ति बोक्ने तत्वहरु कम्युनिष्ट पार्टीमा केपी ओलीको नामबाट जन्मिए । उनले अरुलाई अपमान गर्छन् । खिसिटुरी गर्छन्।’ आफुले गलत कुराको तर्क र तथ्यको आधारमा खण्डन गर्ने बताउनुभयो ।