७ बैशाख २०८१, शुक्रबार

दर्ता भएका सबै दल गठबन्धन गरेर आएपनि एमालेले जित्छ : ओली

oli 2
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल आएपनि आफूहरूले जित्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा भएका पाँच वटा दल मात्रै नभएर दर्ता भएका सबै पार्टीहरू एकमुष्ट आए पनि एमालेलाई केही फरक नपर्ने चेतावनी दिएका छन् ।

आगामी निर्वाचनमा आयोगमा दर्ता भएका सबै दलहरूले गठबन्धन गरेर आएपनि एमाले एक्लैले जित्ने ओलीले ठोकुवा गरेका छन् । अध्यक्ष ओलीले अन्य पार्टीहरू एमालेसँग डराएर एमालेका विरुद्धमा लागेको समेत बताएका छन् । मुलुकका सबै पार्टी एकातिर लागेपनि एमालेको पक्षमा ५० प्रतिशतभन्दा बढी नेपाली जनता एमालेको साथमा रहेको बताएका छन् ।

ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको संकेत गर्दै एमालेको पाखुरा देखेर देउवा छक्क परेको जिकिर गरेका छन् । अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताएका छन् । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारको रुपमा रहेको उनले स्पष्ट पारे ।

उनले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उल्लेख गरेका छन् । उनले माओवादीलाई नक्कली राष्ट्रवादीको आरोप लगाएका छन् । अध्यक्ष ओलीले देशमा आर्थिकसम्बन्धी समस्या देखा परेको बताए ।

बैंकहरुसँग ऋण दिने पैसा पनि नभएको उनले उल्लेख गरेका छन् । आफु नेतृत्वको सरकार हुँदा सयौँ विकास निर्माण सम्बन्धी काम गर्न पनि पैसा पुगेको भन्दै उनले वर्तमान सरकार आएसँगै पैसा नभएको देखेर अचम्म लागेको टिप्पणी गरेका छन् । भित्रभित्रै पुजिँ पलायन भइरहेको भएपनि त्यसतर्फ सरकारको ध्यान नगएको उनले बताए ।