१२ बैशाख २०८१, बुधबार

अहिलेको आवश्यकता पाँच दलीय गठबन्धनलाई बचाउनु हो : प्रधानमन्त्री

deuba 3

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्नुहुँदै भन्नुभयो, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ ।

उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ ।” प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्त्व रहेको बताउँदै काङ्ग्रेसका लागि पनि तनहुँ उर्वर भूमि रहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गर्नुभयो । उहाँले सबै निर्वाचनमा तनहुँमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । रासस