३० बैशाख २०८१, आईतवार

भर्चुअल संवाद मन्त्री आलेको सलमानसँग : ‘तपाईंलाई सगरमाथा देखाउन चाहन्छु’, सलमानले भने– जरुर जरुर

shalkman and prem ale

पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् ।

‘दबंग टुर’ का क्रममा नेपाल आउने तयारीमा रहेका सलमानसँग आलेले नेपालको पर्यटन प्रवर्द्धन संवाद गरेका हुन् ।

बुधबार सोल्टी होटलमा भएको भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनकाे भनाइ थियाे ।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर हे ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए ।

भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए । संवादका क्रममा उनले सलमानलाई माउन्टेन फ्लाइटबाट नेपालको सगरमाथा अवलोकन गर्न अफर गरे ।

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए । ‘तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु। त्यसमा तपाईले सहयोग गर्नुपर्‍याे,’ मन्त्री आलेले भने ।

आलेले आफूले थुप्रै फिल्म हेरेको स्मरण गराए । नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनकाे भनाइ थियाे । आफ्नो चलचित्रको प्रमोसनका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन् ।

मन्त्री आलेले उनलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका थिए । जवाफमा खानले त्यहाँ जाने पक्का गरेका छन् ।

सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका बलिउड सुपरस्टार सलमान खानले सगरमाथा चढ्ने इच्छा देखाएका छन् । ‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि,’ खानले मन्त्री आलेसँगको संवादमा भने ।

उनले भने, ‘यो कुराकानीलाई जोडेर यदि तपाईँसँग समय भए माउन्टेन फ्लाइटबाट एभरेस्टको हवाई सफर गराउन चाहन्छु । तपाईँलाई थाहै होला, ब्रेक फास्ट इन एभरेस्ट एकदमै प्रख्यात छ ।’

जवाफमा सलमानले भने– जरुर जरुर ।

सलमानको प्रशंसा गर्दै मन्त्री आले उनको फिल्म पटक–पटक हेरेको बताए ।

‘नेपालमा तपाईँका धेरै फ्यान छन् । मैले पनि तपाईँको मैने प्यार किया, तेरे नाम बहुतबार हेरेको छु,’ आलेले भने ।

उनले बुद्ध भूमि नेपालमा सलमानलाई स्वागत गर्न आफू आतुर रहेको बताए । कुराकानीका लागि समय दिएकोमा आभार व्यक्त गरे ।

उनले सलमानलाई भने, ‘तपाईँको व्यस्त समयका बाबजुद मसँग कुरा गर्नुभएकोमा आभारी छु ।’

आलेले हिन्दी र अङ्ग्रेजीमा संवाद गरेका थिए । सलमान भने धेरै बोलेनन् ।

खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।