२२ बैशाख २०८२, सोमबार

मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा लैजान गठबन्धन आवश्यक : नेता गच्छदार

bijay gachadar

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले निर्वाचनका लागी गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा लैजाने उल्लेख गर्नुभयो ।

उहाँले यो गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै संविधान क्षतविप्त र नागरिकलाई पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको बताउनुभयो ।

उहाँले सरकारमा सहभागी दलहरूको वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानु पर्नेमा जोड दिनुभयो ।

उहाँले गठबन्धनको कारण नेपाली काँग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्नुहुँदै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गर्नुभयो ।

नेपाली काँग्रेस र कम्युनिष्ट बीच विचार र सिद्धान्त बेग्लाबेग्लै भए पनि राजनीतिक उपलब्ध प्राप्त गर्नका लागि विभिन्न कालखण्डमा एकसाथ आन्दोलन अगाडि बढेको उहाँको भनाइ थियो ।