
गृहमन्त्री बालकृष्ण खाँणले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको उद्घाटन भएको छ ।
गृहमन्त्री खाँणले एक समारोहको बीच आज बिहान मुख्यालयको समुद्घाटन गर्नु भएको हो ।

२०५७ सालदेखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तरोन्नति भई बाहिनीको रुपमा स्थापना भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन कायम भएको बताउनुभयो । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीले कडा मेहनत भएको बताउनुहुँदै उहाँले लुम्बिनी प्रदेश बाहिनी नेपालकै अब्बल बाहिनी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनको लागि सरकारले तयारी गरेको बताउनुभयो । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको बताउनुभयो । तराई मधेसमा विभिन्न जातजातिको बसोबास हुने हुँदा स्थानीय जातजाति नै देशको सीमा रक्षक रहेको उहाँको भनाई छ ।

उहाँले एमसीसीका पारित गर्ने सम्बन्धमा देशमा विभिन्न आन्दोलन भएको र सो आन्दोलनमा सशस्त्र प्रहरीले चोट खाएर पनि देशलाई शान्ति व्यवस्था कायम राख्न सफल भएको बताउनुभयो ।
स्थानीय निर्वाचन भय मुक्त वातावरणका साथ सम्पन्न गर्न भएकोले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने भन्नुहुँदै उहाँले विप्लवप्रति ईगिंत गर्दै निर्वाचनप्रति कुनै शङ्का नगर्न आग्रह गर्दै स्थानीय तहको निर्वाचनमा भाग लिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा ४१ विओपी स्थापना भइसकेको र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको बताउनुभयो ।
कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिटहरू रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सङ्घीय संसद् अभिशेख प्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्र कुमार कनोडिया, लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन के.सी., शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।