
सडक निर्माणको क्रममा झरेको पहिरोले एक्स्काभेटर पुरिदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मङ्गलवार बेलुकी करिब साढे सात बजेतीर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरेको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरोसँगै झरेको ठुला ठुला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो झरेको स्थानमा अर्को एउटा एक्स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।