७ बैशाख २०८१, शुक्रबार

भरतपुर महानगरको मेयरमा फेरि माओवादी दाबी

Bharatpur mahanagar

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रले दाबी गरेको छ ।

सत्ता गठबन्धनका दलहरुबीच भएको स्थानीय तहमा गरिने गठबन्धन र भागबन्डाबीचको छलफलमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पद दाबी गरेको हो । ‘हामीबीच भएको अनौपचारिक छलफलमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा फेरि पनि नेतृत्वमा दाबी गरेको छ ।

माधवकुमार नेपालको पार्टीले काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक दिनुपर्ने भनेको छ’ कांग्रेसका एक प्रभावशाली नेताले भने, ‘तर पार्टीमा अहिले गठबन्धनको मोडल कुन बनाउने भन्ने विषयमा गम्भीर छलफल भएको छैन । सम्भवतः केन्द्रीय समितिको बैठकले नै यस विषयमा निर्णय गर्ला ।’

यसअघि पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी गठबन्धन गरेर माओवादीबाट मेयरमा रेनु दाहालले जितेकी हुन् । चितवनका माओवादी नेता तथा कार्यकर्ताले मेयरमा फेरि दाहाल नै दोहोरिनु पर्ने माग गर्दै आएका छन् ।

यसअघि चुनाव जितेका स्थानमा सोहीअनुसार नेतृत्व लिनुपर्ने प्रस्ताव माओवादीले राखेको उनले जानकारी दिए । वीरगन्जमा भने जनता समाजवादी पार्टीले आफ्नो उमेदवार हुनुपर्ने माग अनौपचारिकरुपमा गरेको छ । ‘यसअघि जितेको भरतपुरमा माओवादीले दाबी गरेको छ’, ती नेताले भने, ‘यसअघि एमालेले जितेको स्थानमा माधवकुमार नेपालको दाबी रहेको छ । काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक आफूहरुलाई हुनुपर्ने उहाँहरुको अडान रहेको छ ।’

सत्ता गठबन्धनमा आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने बाँकी पालिकामा आवश्यकताअनुसार गर्न छुट दिने विषयमा छलफल भएको छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलमा यस्तो विषयमा छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसको विधानअनुसार पनि महानगरपालिकाको मेयर र उपमेयर उमेदवारको निर्णय केन्द्रले गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार महानगरपालिकामा गठबन्धन गर्ने विषयमा केन्द्रबाटै निर्णय गर्ने र तल्ला निकायमा आवश्यकताअनुसार स्वतन्त्र छाडिदिनुपर्ने विषयमा छलफल भए पनि टुंगोमा नपुगेको ती नेताको दाबी छ । गठबन्धनमा जाने कि नजाने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ भने माओवादी केन्द्रले कांग्रेसले गठबन्धन गर्न नमाने एमालेसँग मिल्न सकिने संकेत पनि गरिसकेको छ ।