१४ बैशाख २०८१, शुक्रबार

चितवनकी कोरोना संक्रमित महिलाले चकलेट बाँडेकी थिइन् गाउँमा

covid 19 1

चितवनको राप्ती नगरपालिकाकी कोरोनाको संक्रमण देखिएको बेलायतबाट आएकी महिलाले गाउँमा चकलेट बाँडेको खुल्न आएको छ।

उनले बेलायतबाट ल्याएको केही चकलेट गाउँलेलाई बाँडेको वडा अध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए।

‘उनीहरू चैत ३ गते नेपाल आएर ५ गते चितवन आए भन्ने जानकारी छ। चितवन के मा आए, काठमाडौंमा कहाँ बसे केही पनि बताएका छैनन्,’ थपलियले भने, ‘लकडाउनपछि नगरपालिकाले विदेशबाट आएकाहरूको नाम टिपोट गर्न सर्कुलेनस जारी गरेपछि हामीले उहाँहरूकै घर गएर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका थियौं।’

उक्त परिवारले वडाको निर्देशन मानेर १ महिनादेखि नै क्वारेन्टाइनमा बसे पनि विदेशबाट आउने बित्तिकै गाउँलेलाई चकलेट बाँडेको थपलियाले जानकारी दिए।

वडाले सबै विदेशबाट आएकाहरूको थर्मल(गनले ज्वरो जाँच्ने क्रममा कुनै लक्षण नदेखिएको उनले बताए। ‘त्यो बेलामा कुनै लक्षण देखिएको थिएन। पछि हामीलाई केही भएको छैन भन्दै अस्पताल जान पनि आनाकानी गर्नुभयो। बल्ल बल्ल पठायौं,’ थपलियाले भने।

पिसिआर परीक्षण गर्दा ३ जनामध्ये आमा-छोराको नतिजा पोजेटिभ देखिएको थियो भने हङकङबाट आएका अर्का छोराको भने नतिजा नेगेटिभ आएको थियो।

काठमाडौंको नतिजा आएपछि नगरपालिकाले थप कदम चाल्ने नगर प्रमुख प्रभा बराल पौडेलले जानकारी दिइन्।

‘काठमाडौंबाट आधिकारीक रिपोर्ट के आउँछ हेरौं। त्यसपछि हामी थप कदम चाल्छौं,’उनले भनिन्।