७ बैशाख २०८१, शुक्रबार

हरियो रङ रुख कांग्रेसको चुनाव चिन्ह अनुकुल हुने गरी आयोगले मतपत्रको रङ फेरेको अध्यक्ष ओलीको आरोप

276128044 513636933458869 180371455857484316 n 1024x768 1

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धी निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले कांग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

आजदेखि काठमाडौंमा शुरु भएको पार्टी पोलिट्ब्यूरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रुख अनुकुल हुने गरी किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गर्नु भयो । उहाँले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गर्नु भयो ।

दलहरुसँग परामर्शसमेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धी तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो । उहाँले दलहरुको निर्वाचन चिन्हको रङ ब्लाकेन्टह्वाइट भएको भए मान्य हुने धारणा पनि राख्नु भयो ।

निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहाकाण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उहाँले सचेत गराउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘निर्वाचन आयोगले पनि दलहरुसँग परामर्श गर्नुपर्छ । अनि निर्वाचन चिन्हहरुको रङ पनि दलहरुको परामर्श लिनुपर्दैन ? कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरु हुन यी ।’

अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीनवटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।