१२ बैशाख २०८१, बुधबार

एन्जिला तुम्बापोको जीवनीमा ‘अन्जिला’ बन्ने

anjila announcement

राष्ट्रिय महिला फुटबल टिमकी नम्बर १ गोलरक्षक एन्जिला तुम्बापोको जीवनबाट प्रभावित भएर फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा एन्जिला आफैले अभिनय गर्नेछिन् ।

उनको साथमा फिल्ममा दयाहाङ राई, श्रृजना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, प्रेमकुमार श्रेष्ठको मुख्य भूमिका रहनेछ । एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र पाएको सफलताको कथामा यो फिल्म बन्नेछ ।

निर्देशक चाम्सका अनुसार, फिल्ममा एन्जिलाको बाल्यकालदेखि सफलतासम्मको कथा प्रस्तुत गरिनेछ । मिलनले यसलाई एन्जिलाको बायोपिक नभन्ने पनि बताए । ७५ प्रतिशत एन्जिलाको जीवनीबाट प्रभावित हुने फिल्म २५ प्रतिशत अन्य कथाहरुमा आधारित रहनेछ ।

एन्जिलाले आफ्नो सहमतीमै बायोपिक बन्न लागेको भन्दै आफूले अभिनयको तालिम पनि लिइरहेको बताइन् । यो फिल्मलाई प्रेमकुमार श्रेष्ठले निर्माण गर्दैछन् ।

१३ बर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका प्रेमले उनको जीवनीमा फिल्म बनाउन पाउँदा खुशी लागेको बताइन् । केन्द्र मोशन पिक्चर्स, मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बुको लगानी रहनेछ ।

जेठबाट फिल्मको छायांकन सुरु हुनेछ । यम थापाको कथा रहेको फिल्ममा सुदीप बरालको छायांकन रहनेछ । कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराज प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।