१२ बैशाख २०८१, बुधबार

कम्तीमा एउटा चुनाव प्रचण्ड र माधव नेपाललाई बाहिर राखेर लड्छौं : एमाले महासचिव पोखरेल

shankar pokhrel
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । शुक्रबार नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले निर्वाचन सार्न दुई नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइरहेको बताउनु भयो ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पक्ष बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन गर्न तयार नभएको र निर्वाचन सार्ने तयारी गरिरहेको महासचिव पोखरेलले आरोप लगाउनु भयो।

बैशाख ३० मा हुने निर्वाचनमा कुनै पार्टीसँग एकता नहुने र नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिने दाबी गर्नुभयो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले धोका दिएको समेत बताउनु भयो ।

‘एक पटक कम्तीमा प्रचण्ड र माधव नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौं ।’ प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको बताउनु भयो ।

समाजवादको बाटोतर्फ देशलाई डो-याउन चाहनेहरु एमालेमा र पुँजीवादतर्फ हिड्न चाहनेहरु देउवातिर देखिएको पनि उहाँले आरोप लगाउनु भयो ।

अब नेकपा एमालेले गठबन्धन गरेर होइन एकल रुपमा नेकपा एमालेलाई बहुमत प्रदान गर्नेगरी तीनै तहको चुनावमा जनताको बीचमा जाने महासचिव पोखलेलको ठहर रहेको छ ।