१३ बैशाख २०८१, बिहीबार

पाखा लगाउन खोजे अरू दलसँग मिलेर अघि बढ्छौँ: प्रचण्ड

prac

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेससँग गठबन्धन हुने÷नहुने कुरा कांग्रेसको व्यवहारमा भर पर्ने बताउनुभएको छ ।

बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमालेसँग गठबन्धन हुने÷नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भरपर्ने बताउनुभएको हो ।

एमालेसँग पनि सहकार्य हुनसक्छ भन्ने माओवादी नेताको भनाइमा प्रचण्डको धारणा के हो ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन, तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भरपर्छ, कांग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’ उहाँले राजनीतिमा अनेक सम्भावना रहने भन्दै कांग्रेसले पाखा लगाउन खोजे अरू दलसँग मिलेर अघि बढ्न सक्ने बताउनुभयो । 

‘मैले पहिला पनि भन्दै आएको छु, राजनीति सम्भावनाहरूको खेल हो भनेर । त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न,’ प्रचण्डले भन्नुभयो, ‘एमालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर त्यो के हुन्छ भन्ने कुरा कांग्रेसको व्यवहारमा पनि भरपर्छ ।

अहिले केही कांग्रेसी नेताहरूले माओवादीसँग गठबन्धन गर्नै हुन्न भनेर अतिवादी कुरा गरिरहनु भएको छ ।’ नेताहरूले गठबन्धन गर्न नहुने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका पक्षमा भएकाले सत्तारूढ दलबीच चुनावमा केही स्थानमा तालमेल हुन सक्ने उहाँले बताउनुभयो ।

प्रचण्डले यो अवस्था कांग्रेस सभापतिको प्रतिबद्धताले तत्कालका लागि टरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हरहालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले एमालेसँग तालमेल गर्ने परिस्थिति आउला भन्ने देखेको छैन, देउवाजीले पनि त्यसरी नबोल्नु भनेकोले पनि अवस्था त्यतातिर नजाला ।’ 

उहाँले चुनावमा माओवादी सकेसम्म एक्लै र आफ्नै तागतले चुनाव जित्ने प्रयत्नमा रहने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक रूपमा सुसूचित र आर्थिक रूपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौँ ।’

अध्यक्ष प्रचण्डले गठबन्धन गरेर मात्र चुनाव जितौँला भन्ने नसोच्न नेताहरूलाई सचेतसमेत गराउनुभयो । ‘गठबन्धनमार्फत चुनावी परिणामलाई सकारात्मक बनाउने विषयलाई सहायक रणनीति बनाएर अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।

प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको बताउँदै भन्नुभयो, ‘गठबन्धन बनाउँदा संविधानको रक्षा, प्रतिगमनविरुद्ध संघर्ष गर्नका लागि भनेर बनाइएको गठबन्धन हो । त्यो उद्देश्य पूरा गर्ने काम अझै बाँकी रहेको छ ।’

प्रचण्डले एमसिसीका कारण नयाँ गठबन्धन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसिसी अनुमोदन गराएपछि हालका लागि गठबन्धन सुरक्षित रहेको बताउनुभयो ।

प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने भ्रम हटेको बताउँदै भन्नुभयो, ‘तोकिएको समयमै चुनाव हुन्छ, बिहीबार बिहान मात्रै पनि प्रधानमन्त्री, माधव नेपाल र मेरो छलफल भयो, प्रधानमन्त्रीले ढुक्क भएर चुनावी तयारी गर्नुहोस् भन्ने खालका कुरा गर्नुभएको छ, म पनि त्यसमा कुनै कन्फ्युजनमा नरहन सबैलाई आग्रह गर्दछु ।’