१३ बैशाख २०८१, बिहीबार

९५ दिनपछि भारतले प्रस्‍तावित नेपाली राजदूत डा शंकर शर्माको एग्रिमो पठायो

Shankar Sharma

भारतले प्रस्‍तावित नेपाली राजदूत डा शंकर शर्माको एग्रिमो पठाएको छ ।

डा शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार एग्रिमोसम्बन्धी पत्रमा भारतले मंगलबारको मिति राखेको छ । अब शर्मालाई राष्ट्रपति भण्डारीले भारतका लागि नेपाली राजदूत पदमा नियुक्ति दिनुहुनेछ ।

शर्मासँगै एकै मितिमा अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा पत्राचार गरेको थियो । बेलायत र अमेरिकाले तीन महिना नबित्दै एग्रिमो पठाइसकेका थिए । तर, भारतले नेपालका कूटनीतिहरूसँगको कुराकानीमा विधानसभा चुनाव र विदेशमन्त्रीको व्यस्ततालगायत कारण देखाउँदै शर्माका लागि अग्रिमो पठाएको थिएन । सामान्यतयाः आग्रह गरेको ४ देखि ६ हप्ताभित्र एग्रिमो पठाइसक्ने चलन छ ।

अर्थशास्त्री डा शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । उहाँले राष्ट्रिय योजना आयोग उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।