१३ बैशाख २०८१, बिहीबार

नेता रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश, रक्षामन्त्री हुँदा भीम रावलको दिमाग फुस्किएको थियो र ?

bhim rawal sherbadhur deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गरेकोप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न आइतबार नुवाकोट आउनुभएका प्रधानमन्त्री देउवाले हालै प्रतिनिधिसभाबाट पारित भएको एमसिसीबारे नकारात्मक टिप्पणीहरू भ्रम मात्र भएको जिकिर गर्नुभयो । उहाँले एमसिसीको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसंग बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एमसिसी संसद्बाट पास गर्नुपर्छ भनेर ओलीजीले संसद्मा पेश गर्नुभएको हो । त्यसबेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ । भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ । उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो ।’ आफू रक्षामन्त्री हुँदा संसद्मा लान निर्णय गर्दा मौन बस्नेले अहिले विरोध गर्नुको अर्थ नभएको उहाँले बताउनुभयो ।

देउवाले रावलप्रति आक्रोश पोख्दै भन्नुभयो, ‘आफू मन्त्री हुने बेलामा पास गर्ने खोज्ने ? खिलाफ थियो भने त्यसबेला किन राजीनामा गरेनन् । गल्ती थियो भने त्यस बेलामा के हेरेर बसे । खिलाफमा थियो भने राजीनामा गरेर बाहिर किन निस्केनन् । त्यस्तो दुई जिब्रे बन्न पाइन्छ । आफू रक्षामन्त्री हुँदा सदनमा ल्याउँदा हुने । मैले ओलीले ल्याएको एमसिसी पास गर्न खोज्दा विरोध गर्ने ।’ रावल आफैँ रहेको क्याबिनेटले प्रस्ताव ल्याउँदा के हेरेर बसेको भन्दै देउवाले अहिले विरोध गर्न लाज लाग्दैन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, रक्षामन्त्री हुँदा भीम रावलको दिमाग फुस्किएको थियो र ?

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आ≈वान गरेर नेपालको कानुनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गर्नुभयो । ‘एमसिसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रशारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।’

यस्तै, उहाँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन गर्न सरकार जिम्मेवार भएकाले सभ्य ढंगले गर्ने स्पष्ट पार्नुभयो । सरकार जनताको कामप्रति कठिबद्ध रहेको उहाँले बताउनुभयो ।

रावलको खण्डन : प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ

प्रधानमन्त्री देउवाले आफूमाथि ‘एमसिसीको गलत प्रचार गरेको’ भनेर लगाएको आरोपबारे एमाले नेता भीम रावलले सोमबार नै जवाफ दिनुभएको छ । उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति झुटो भएको बताउनुभएको छ ।

रावलले सामाजिक संजालमार्फत केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा आफू उपप्रधानमन्त्री र रक्षामन्त्री भएको र त्यतिबेला एमसिसी संसद्मा पेश गर्ने निर्णय नभएको बताउनुभएको छ । केपी ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले एमसिसी संसद्मा पेश गर्ने निर्णय गरेको र त्यतिबेला आफू मन्त्रिपरिषद्को सदस्य नै नरहेको बताउँदै रावलले प्रधानमन्त्री देउवाले तथ्यहीन र झुटो कुरा गरेको जिकिर गर्नुभयो ।

उहाँले सार्वजनिक तथ्यको जानकारीसमेत नराखी झूठा बोल्ने प्रधानमन्त्रीको आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ भन्दै टिप्पणी गर्नुभएको छ । रावलले ट्वीट गर्दै भन्नुभएको छ, ‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’ रावलले प्रधानमन्त्री देउवालाई थप बहस गर्ने इच्छा भए बहस गर्न चुनौती पनि दिनुभएको छ ।