७ बैशाख २०८१, शुक्रबार

महिला बेचबिखनका समस्या निमिट्यान्न पार्नुपर्छ: राष्ट्रपति भण्डारी

rastrapati bhandaru

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला बेचबिखनका कुरा राज्यको प्रतिष्ठासँग जोडिने विषयवस्तु भएकाले यस्ता समस्या आउनै नदिने गरी राज्य र समाज सचेत रहनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित बेचबिखनमा परेका महिलाहरूको संस्था शक्ति समूहका पदाधिकारीहरू सँगको कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला पुरुष बिनाको समाजको परिकल्पना नै गर्न नसकिने भएकाले बेचबिखनका समस्यालाई सामाजिक समस्याका रुपमा लिएर यसको समाधान खोज्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बेचबिखनका समस्याप्रति राज्यको विशेष जिम्मेवारी रहनुपर्ने उल्लेख गर्दै यसलाई निमिट्यान्न पार्न सबै मिलेर अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो ।

महिला बेचबिखनका समस्यामा परेकाहरूको उद्धार तथा पुनर्स्थापनामा शक्ति समूहले सम्पादन गर्दै आएको कामको उच्च प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले आफू पदमा रहँदा वा नरहँदा हरेक क्षण समूहको यस्ता राम्रा काममा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा शक्ति समूहका अध्यक्ष चरीमाया तामाङले बेचबिखनमा परी प्रभावित भएकाहरूको उद्धार र पुनर्स्थापनाका लागि सरकारबाट विशेष अभियानका साथै पहलकदमी हुनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रममा बेचबिखनमा परेका महिलाहरूलाई विशेष रुपमा समावेश गर्नुपर्ने माग राख्नुभयो ।

सोही समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शक्ति समूहका अध्यक्ष चरीमाया तामाङले समूहको हालै सम्पन्न ५ औँ भेलाले उठाएका मुद्दाहरू सहितको माग पत्र पनि पेश गर्नुभयो ।