४ बैशाख २०८१, मंगलवार

चैत १२ देखि १३ सम्म चीनका विदेशमन्त्री वाङको नेपाल भ्रमण तय, उच्चस्तरीय भेटवार्ता हुने

chinese foreign minister wang yi

संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरेको एक महिना नपुग्दै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी चैत दोस्रो साता नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसक्नुभएको छ । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिनुभएको छ । तर, नेपाल र चीन दुवैले भ्रमणको मिति सार्वजनिक गरिसकेका छैनन् । कूटनीतिक च्यानलमार्फत नेपाल सरकारलाई र चिनियाँ राजदूतमार्फत भने प्रमुख दलका शीर्ष नेतालाई भ्रमणको जानकारी आइसकेको छ ।

नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि चीनबाट आउन लागेका वाङ सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ । चीनका रक्षामन्त्री वेई फङ्गेले १४ मंसिर ०७७ मा भ्रमण गरेयता नेपाल भ्रमण गर्न लागेका वाङ उपल्ला चिनियाँ अधिकारी हुनुहुन्छ । दुई वर्षअघि कोरोना महामारी सुरु भएयता नेपाल भ्रमण गर्न लागेका वाङ दोस्रो चिनियाँ उच्च अधिकारी हुनुहुन्छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच गत २ कात्तिकमा एक घन्टा लामो टेलिफोन कुराकानी भएको थियो । दुई परराष्ट्रमन्त्रीबीच पहिलोपटक भेट हुन लागेको हो ।

नेपालले चिनियाँ असन्तोषमाझ अमेरिकी सहायता परियोजना (एमसिसी) पारित गरेपछि चिनियाँ विदेशमन्त्री वाङको भ्रमण हुँदै छ । एक वर्षअघि चिनियाँ रक्षामन्त्री वेई तत्कालीन नेकपाको विभाजनको सम्मुखमा आइपुग्नुुभएको थियो । एमसिसी पारित भएको अवस्थामा विदेशमन्त्री वाङ आइपुग्न लाग्नुभएको हो । नेपालमा एमसिसीका विषयमा अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका वेला एमसिसी पारित भएपछि चीनले त्यसलाई नोट गरेको भनाइ सार्वजनिक गरेको थियो ।

यसैबीच नेपाल सरकारले चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गरिरहेको बताइएको छ । उहाँ १२ चैतमा आएर १३ चैतमा बाहिरिने गरी कार्यक्रम बनिरहेको छ । सरकारले उहाँको सुरक्षाको बन्दोबस्तका लागि तयारी थालिसकेको छ । भेटघाटका लागि चिनियाँ राजदूतले शीर्ष नेताहरूसँग समय व्यवस्थापन लगभग गरिसकेको स्रोतले बताएको छ ।

चिनियाँ राजदूत यान्छीले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भ्रमणबारे जानकारी गराइसक्नुभएको छ । स्रोतका अनुसार कूटनीतिक च्यानलमार्फत परराष्ट्रमन्त्री खड्कालाई आएको जानकारी प्रधानमन्त्री देउवालाई भइसकेको छ । भेटघाटका कार्यक्रम १२ चैतमा हुने गरी कार्यक्रम तय भएको छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार स्टेट काउन्सिलर वाङले नेपाली समकक्षी डा। खड्कासँग द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट हुनेछ । वाङसँग प्रमुख दलका शीर्ष नेताहरुले पनि भेटघाट गर्ने तय भइसकेको स्रोतले बतायो ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्म कार्यान्वयन हुन नसकेको बिआरआई सहकार्यका विषयमा ठोस छलफल हुने अधिकारीहरूको भनाइ छ । बिआरआई कार्यान्वयन सम्झौताको मस्यौदा नेपालले पठाइसकेको छ, तर चीनबाट जवाफ आउन बाँकी छ । नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये एउटा पनि बिआरआईअन्तर्गत कार्यान्वयन भएको छैन ।