१४ बैशाख २०८१, शुक्रबार

किन बढ्छ यसरी पार्टी प्रवेशको लहर चुनाव नजिकिँदै ?

gathbandan vs uml
फाइल फोटो

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी प्रवेशको लहर चलेको छ । प्रभावशाली मानिएका जनप्रतिनिधिलाई आफ्नो पार्टीमा प्रवेश गराउन नेताहरु नै तछाँडमछाडमा उत्रिएका छन । चुनाव नजिकिँदै पार्टी प्रवेशको लहर यसरी किन बढ्छ ?

मंगलबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । गत स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भएर चुनाव जितेका क्षेत्री झण्डै एक महिनाअघि एमाले सिन्धुपाल्चोकको जिल्ला अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो ।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले क्षेत्रीलाई टीका लगाएर कांग्रेसमा प्रवेश गराउनु भयो । बिहीबार पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई पनि कांग्रेस सभापति शेरबहादुर देउवाले टीका र माला लगाएर कांग्रेस प्रवेश गराउनु भयो । रौनियार २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको उम्मेदवार बनेर निर्वाचन जित्नु भएको थियो ।

बिहीबार नै बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । उहाँ गत स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले चन्दलाई पार्टी प्रवेश गराउनुभयो ।

गत माघ २८ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेता राजेशमान सिंह एमालेमा प्रवेश गर्नुभयो । राजेशमान सिंह तत्कालीन राजपाको तर्फबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार हुनुहुन्थ्यो ।

शनिबार मात्रै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी दलबलसहित एमालेमा प्रवेश गर्नुभएको छ । ११ जना वडाअध्यक्षलाई समेत बोकेर एमाले प्रवेश गरेका सरावगीलाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष केपी ओली वीरगंज पुग्नुभयो । सरावगी २०७४ को स्थानीय तह निर्वाचनका लागि तत्कालीन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको थियो ।

वीरगंजका उद्योगी सरावगीलाई फोरमका अध्यक्ष उपेन्द्र यादवले मेयरको टिकट दिने सर्तसहित २०७३ चैत ६ गते पार्टी प्रवेश गराउनु भएको थियो । फोरममा प्रवेशगरेलगत्तै टिकट पाएर मेयर जितेका सरावगी यतिबेला पुनः मेयरकै टिकट पाउने गरी एमालेमा प्रवेश गर्नुभएको छ ।

केही दिनको चर्चासहित एमालेले धुमधामसँग सरावगीलाई पार्टीमा भित्र्याएको छ । २०७४ को निर्वाचनमा फोरमकै जिल्ला सभापतिसमेत रहेका नेता प्रदीप यादव वीरगंजको मेयरमा उम्मेदवार बन्ने चर्चाबीच राजनीतिमा नरहेका सरावगीलाई टिकट दिएर पार्टीमा भित्र्याइएको थियो ।

त्यही लटमा पप्पु कन्स्ट्रक्सनका मालिक हरि रौनियार पनि फोरममा प्रवेश गर्नुभयो । उहाँलाई फोरमले संघीय सांसद बनायो । धेरैजसो ठूलो आयोजनाहरुमा ठेक्का पार्ने रौनियार राजनीतिक विचारले नभई पैसाको बलमा नेता बन्नुभयो, सांसदको चुनाव जित्नुभयो तर अहिले निलम्बनमा हुनुहुन्छ ।

सरकारले २०७९ वैशाख ३० का लागि तोकेको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा चुनाव जित्न सक्ने प्रभाव देखिएका र अलिक चर्चामा रहेका नेताहरुको मोलमोलाइ चलिरहेको छ । खासगरी विजय सरावगी जस्ता राजनीतिक जगभन्दा पनि आर्थिक पृष्ठभूमि बलियो भएका नेताहरु दलका रोजाइमा परिरहेका छन् ।

यसले स्वार्थ अनुकुल पार्टी फेर्दै लाभको पद पाउने चाहना बढेको देखाउँछ ।
चुनाव नजिकिँदै गर्दा सामान्य कार्यकर्तादेखि केही प्रभाव भएका नेताहरुसम्मलाई पार्टीमा प्रवेश गराउने होड भने के जातिको तातोमा मात्र सीमित बन्ने गरेको छ ।

जनअपेक्षा के छन्, मुलुकको आर्थिक अवस्था के छ, तत्काल गर्नुपर्ने काम के छन् र तीनलाई कसरी सम्पादन गरिन्छ भन्ने कुराको अध्ययन, त्यसैअनुसारको चुनावी एजेण्डा तय गर्ने भन्दा पनि ठूला भनिएका दलहरु पार्टी प्रवेश गराउने कार्यक्रममा आफूलाई समर्पण गरिरहेका छन् ।

चुनावको मुखमा ठूलो आर्थिक चलखेल गर्ने, अर्को पार्टीका नेताहरुलाई प्रलोभनमा पार्ने र टिकटको सौदाबाजी गर्ने प्रवृत्ति आफूलाई ठूला र प्रभावशाली भन्ने दलमा झनै बढी देखिएको छ । स्थानीय तहदेखि संघीय संसदमासमेत अनपेक्षित रुपमा धनाड्य र ठेकेदारहरुको प्रवेश, प्रधानमन्त्रीको भान्सादेखि मन्त्रिपरिषद्सम्म ठेकेदारहरुकै चलखेल र दबदबा बढ्दै गएको छ ।

पार्टी प्रवेशलाई दलहरु कुनै पनि मूल्यमा चुनाव जित्ने प्रपञ्चकै हतियार बनाउँदैछन् । जनताका लागि लोकप्रिय र कार्यान्वयन योग्य नारा तय गर्नेभन्दा पनि फण्डा गर्ने र मतदातालाई भ्रमित पार्ने हतकण्डामा दलहरु उत्रिएका छन् ।