६ बैशाख २०८१, बिहीबार

युनाइटेडको रोमाञ्चक जितमा रोनाल्डोको ह्याट्रिक

cristiano ronaldo 111019

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटनहमबिरुद्द ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।