११ बैशाख २०८१, मंगलवार

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले नेपालसहित १४ जनाविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ

Supreme Court 43KnAVGEAY

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद्को पद, एकीकृत समाजवादीको वैधानिकता र सभामुखविरुद्ध दायर गरेको रिटको पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । यो १२औँ पेसी हो । यसअघि १० पटक स्थगित भइसकेको छ ।

एमाले विभाजन हुँदा सभामुखले असंवैधानिक कदम चालेको भन्दै संसद् अबरुद्ध गरेको एमालेले संसद् र सर्वोच्च दुवैमा दाबी गरिरहेको छ । उक्त रिट खतिवडा र चुडालको इजलासमा तेस्रो नम्बरमा पेसी रहेको छ ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर २०७८ भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमाले १४ जना सांसद्लाई कारबाही गरेको पत्र पठाए पनि सांसद् पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसद्‌मा निरन्तर अवरोध गरिरहेको छ ।

एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारबाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारबाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।