
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसद्को पद, एकीकृत समाजवादीको वैधानिकता र सभामुखविरुद्ध दायर गरेको रिटको पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । यो १२औँ पेसी हो । यसअघि १० पटक स्थगित भइसकेको छ ।
एमाले विभाजन हुँदा सभामुखले असंवैधानिक कदम चालेको भन्दै संसद् अबरुद्ध गरेको एमालेले संसद् र सर्वोच्च दुवैमा दाबी गरिरहेको छ । उक्त रिट खतिवडा र चुडालको इजलासमा तेस्रो नम्बरमा पेसी रहेको छ ।
एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर २०७८ भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमाले १४ जना सांसद्लाई कारबाही गरेको पत्र पठाए पनि सांसद् पद निलम्बन नगरेर सभामुख पार्टी फुटाउने मतियार बनेको आरोप लगाउँदै आएको छ । १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले संसद्मा निरन्तर अवरोध गरिरहेको छ ।
एमालेले १ भदौमा संसद सचिवालयमा सांसदमाथिको कारबाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए । कारबाही विचाराधीन रहेकै बेलामा माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए । नयाँ पार्टी दर्ता भइसकेको हुनाले सभामुखले कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।