७ बैशाख २०८१, शुक्रबार

नीतिमा भिन्नता छैन कांग्रेस र कम्युनिष्टको ‘ब्रान्ड’ नामबाहेक: भट्टराई

Dr. baburam bhattarai

जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ ।

जसपाको केन्द्रीय कमितिको बैठक भोलि (आइतबार)देखि शुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो ।

प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाले जनाएको छ ।

विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो सङ्घीय परिषद् बैठक हो । विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रुपमा नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टीका घटकहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ ।

प्रतिवेदनमा अध्यक्ष भट्टराईले कांग्रेस वैचारिक दृष्टिकोणले उदारवादी–पूँजीवादी संसदीय लोकतान्त्रिका धारको नेतृत्व गर्ने पार्टीका रुपमा चित्रित गर्नुभएको छ । कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ ।

यस्तै, नेपालमा धेरै कम्युनिष्ट समूह रहेका र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरु जसपाको दृष्टिकोणमा एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा भट्टराईले उल्लेख गर्नुभएको छ ।

कांग्रेस र कम्युनिष्टको ब्रान्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गर्नुभएका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष भट्टराईले एकीकृत समाजवादीको एजेन्डा अझै प्रस्ट भइनसकेको र राप्रपा सानो शक्ति भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको टिप्पणी गर्नुभएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको विचार, सिद्धान्त र एजेन्डा प्रस्ट नभएको उहाँको विश्लेषण छ । विवेकशील–साझा पार्टीको एउटा पङ्क्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

जनमत पार्टीको वास्तविक राजनीतिक अभीष्ट के हुन् भन्ने अझै प्रस्ट नभएको उहाँको प्रतिवेदनमा उल्लेख छ । ‘स्वतन्त्र मधेस’ को नाराबाट यो पार्टीको नेतृत्व चर्चामा आएको प्रतिवेदनमा भनिएको छ ।

यस्तै, पूर्ववत् सरकार र वर्तमान गठबन्धन सरकारका बारेमा र पार्टीको एजेन्डाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।