२९ बैशाख २०८१, शनिबार

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

corona nepal

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । तीनै जनाको र्‍यापिड टेष्टमा पोजेटिभ  देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।

पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।

चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे उनीहरु काठमाडौं आएर सनसिटी अपार्टमेन्टको पाँचौ तलमा बसेका थिए ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्‍यापिड टेष्ट गरिएको थियो ।

सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका थिएनन्, कोरोना सार्ने हुन् कि भन्ने डर हामीलाई लागिरहेको थियो, आज त अस्पताल लगिएछ ।’

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।

उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको र अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।