१४ बैशाख २०८१, शुक्रबार

मुलुकको दिगो विकास र आर्थिक समृद्धि सम्भव निजी क्षेत्रको सहभागिताबाट मात्रै : प्रधानमन्त्री देउवा

deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको सहभागिताबाट मात्रै मुलुकको दिगो विकास र आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन तथा २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको आज वीरगंजमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले घरेलु मझौला तथा साना उद्योगको दिगो विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले घरेलु तथा मझौला उद्योगको विकास र सहजिकरणका लागि सरकार तयार रहेको बताउनुहुँदै स्वदेशी श्रम सीप पुजी र कच्चा पदार्थको उच्चतम प्रयोग गरी रोजगारीमा पुर्‍याएको योगदानको सरकारले उच्च प्रशंसा गरेको कुरामा जोड दिनुभयो ।

उहाँले कोभिडबाट प्रभावित उद्योगलाई पुनर्स्थापन र पुर्नजिवन दिन सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै घरेलु लघु र साना उद्योगहरूमा कोभिडले पारेको प्रभावको अन्त्य गर्ने कार्यमा सरकार लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले घरेलु तथा साना उद्योग, कृषि जन्य उद्योगको विकासका लागि सहुलियत प्रदान गरिरहेको बताउनुहुँदै यस क्षेत्रमा व्यवसायीले खेप्नुपरेको चुनौती समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले महिलाहरूलाई स्वरोजगार बनाउन तथा महिला उद्यमशीलताको विकासका लागि सरकारको विशेष योजना रहेको खुलासा गर्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगको महत्त्वपूर्ण भूमिका रहेको भन्नुहुँदै रोजगार नपाएर बिदेसिन बाध्य युवाहरूलाई आफ्नै देशमा उद्योग खोलेर स्वरोजगार बन्नका लागि नीतिगत तथा आर्थिक समस्या भएमा त्यसको निराकरणका लागि सरकारले पहल गर्ने बताउनुभयो ।

मधेस प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्माले अहिले स–साना उद्योगहरूमा बैङ्कले लगानी नगर्ने, तर ठुला तथा अरबपतिलाई एक मिनेटमै ऋण दिने परम्पराको कारण घरेलु तथा साना उद्योग माथि उठ्न नसकेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, सरेन्द्र चौधरी, प्रदेश सभा सदस्य प्रकाश रावल, उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले २ लाख ७० हजारभन्दा बढीको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगले झण्डै २७ लाख जनशक्तिलाई रोजगारी दिएको बताउँदै ठूलो जनशक्तिको आधार स्तम्भ भएर पनि घरेलु तथा साना उद्योग सधैँ उपेक्षित रहेको दुखेसो व्यक्त गर्नुभयो ।

महाधिवेशनमा ७७ वटै जिल्लाका महासङ्घका प्रतिनिधि र पर्यवेक्षक गरी १५ सयभन्दा बढीको सहभागिता रहेको छ ।