६ बैशाख २०८१, बिहीबार

एक दिने युद्धविरामको सहमति रुस र युक्रेनबीच

ukrane russian
फाइल फोटो

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति भएको छ । स्थानीय समयअनुसार आज बुधवार बिहान ९ बजेदेखि भोलि बिहीवार बिहान ९ बजेसम्म युद्धविराम गर्ने सहमति भएको युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

यो युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न समय प्राप्त भएको छ । उत्तर–पश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको बमबारीबाट बच्न किएभमा सारिने बताइएको छ ।

हिजो पनि सुमीबाट ६० वटा बसले सर्वसाधारणलाई बाहिर निकालेको थियो । अहिले ६ वटा मार्गबाट सर्वसाधारणको उद्धार भइरहेको बीबीसीले जनाएको छ ।

सुमी सहरमा रुसले ठूला आक्रमण गरिरहेको छ । गए राति भएको हवाई आक्रमणमा सुमीमा २२ जना सर्वसाधारणको ज्यान गएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले युक्रेन शरणार्थीहरूको सङ्ख्या २२ लाख जनासम्म पुगेको अनुमान गरेको छ ।