११ बैशाख २०८१, मंगलवार

राज्यको शैलीले अर्थतन्त्र थप धराशायी

chiranjibi nepal

पूर्वगभर्नर डाक्टर चिरञ्जीवी नेपालले राजश्व संकलन गरेर राष्ट्र बैंकमा थन्क्याउने राज्यको शैलीले अर्थतन्त्र थप धराशायी बनाउने बताउनुभएको छ ।

उहाँले मुलुकको अर्थतन्त्र ध्वस्त हुनबाट बचाउनका लागि राजश्व ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृति बन्द गर्नुपर्ने सुझाव दिनुभयो । पूर्वगभर्नर नेपालले राज्यले नीति बनाएर बैंकहरुलाई रकम चलाउन दिए अर्थतन्त्र माथि उठ्ने दाबी गर्नुभयो ।

पछिल्लो समय रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति छ ।

सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर र राजश्वको लक्ष्य समेत पूरा नहुने पूर्व गभर्नर नेपालको दाबी छ । अर्थतन्त्र सहज बनाउनका लागि सरकारले तत्काल विदेशी सहयोग अनुदानका लागि पहल गर्नुपर्ने पूर्वगभर्नर नेपालले सुझाव दिनुभयो ।

पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताउनुभयो ।

उहाँले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिका लागि समयमै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिनु भएको छ ।