८ बैशाख २०८१, शनिबार

जनतामा फैलाईको एमसीसीबारे भ्रम नचिरे कांग्रेसले चुनाव जित्दैनः गृहमन्त्री खाँण

Balkrishna khad 1
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले एमसिसीबारे जनतामा फैलाईको भ्रम चिर्न नसक्ने हो भने काँग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताउनु भएको छ ।

एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिंजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने उहाँले बताउनु भयो । “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, काँग्रेस एमसिसीको पक्षमा उभियो र संसदबाट अनुमोदन गर्न सफल भयो”–काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएको गृहमन्त्री खाँणले भन्नुभयो–“एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ ।”

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार आयोजना गरेको जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै गृहमन्त्री खाँणले एमसिसीबारेको भ्रम चिर्न नसके आगामी निर्वाचनमा काँग्रेसको पराजय हुने खतरा रहेको बताउनु भयो ।

सञ्चारकर्मीहरुले पनि एमसिसीबारे सत्यतथ्य उजार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको बताउनु भयो ।

विद्युत प्रसारण लाईन निर्माण गरी विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसिसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उहाँले दावी गर्नुभयो ।

गृहमन्त्री खाँणले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउनु भयो । “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ”–उहाँले भन्नुभयो ।

उहाँले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गर्नुभयो । “हामी त्यस्ता शक्तिहरुसँग पनि सहकार्य गर्न तयार छौं, मूल धारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रवन्ध गरिरहेको छ”–गृहमन्त्री खाँणको भनाई छ ।

उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताउनु भयो ।