७ बैशाख २०८१, शुक्रबार

अप्रिल ६ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने अभिनेत्री दीया

deeya pun

सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई फिल्म ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र फिल्मको पोस्टरसहित बिदाइ गरेको छ ।

मंगलबार नेपाल चलचित्र विकास कम्पनी बालाजुमा पत्रकार सम्मेलन गर्दै सम्मेलनमा फिल्मकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरेका छन् । दीया बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् ।

अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको फिल्म युनिटले दीयालाई सगुनस्वरुप दही चखाएर शुभकामना समेत दिएको थियो । मौसमले साथ दिए अप्रिल ६ मा दीया सगरमाथा चुचुरोमा पुग्नेछिन् ।

झण्डै तीन महिनाको आरोहण कार्य सकेर उनी मे अन्तिमतिर फर्कने कार्यक्रम रहेको छ । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् ।

आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

सगरमाथा आरोहणको उत्सुकताबारे दीयाले भनिन्, ‘सामागाउँमा फिल्म छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

फिल्म ‘मन्त्र’मा दीयासँगै अनस्क्रिन रोमान्स गरेका अभिनेता सौगात मल्लले आफूले कहिल्यै नसोचेको सगरमाथा आरोहणबारे दीयाको योजनाले आफूलाई समेत ऊर्जा थपेको बताएका छन् । ‘हिमाली क्षेत्र मलाई मनपर्छ । मलाई पनि घुम्न जान मन लागेको छ,’ सौगातले भने ।

अभिनेता बुद्धि तामाङ, अभिनेत्री नमिता तामाङसहित फिल्मका अन्य कलाकारले दीयालाई खादा ओढाउँदै सगरमाथा सफल आरोहणका लागि शुभकामना दिए ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको फिल्म एउटा अर्गानिक नेपाली फिल्म बनेको निर्देशक गुरुङले बताए। करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ फिल्मको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए।

फिल्ममा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको फिल्मका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोरखा जिल्लाको चुम नुब्री सामा गाउँ, बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

खिल बहादुर गुरुङ निर्देशित फिल्मले हिमाली प्रेम कथा बोल्छ । यस फिल्म मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । फिल्ममा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्म बैशाख १६ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने छ ।

    सम्बन्धित समाचार...