१५ चैत्र २०८०, बिहीबार

मुलुकमा ६ महिना मात्रै वस्तु आयात धान्न सक्ने राष्ट्र बैंकसँग सञ्चिति

rastrabank

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताउनु भएको छ ।

पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाको लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुनुपर्ने बताएको उहाँको भनाइ छ ।

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजश्व संकलन गरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरुमा तरलता अभाव भएकोे उल्लेख गर्नुभयो । उहाँले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताउनुभयो ।

त्यस्तै पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको तनावले नेपालमा पेट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिनुभयो ।