८ बैशाख २०८१, शनिबार

ठगी मुद्दामा अभिनेत्री सोनाक्षीविरुद्ध वारेन्ट जारी

sonakshi sinha

भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसीजेएम अदालतले चार वर्ष पुरानो ठगी मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ ।

सोनाक्षीविरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो । पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको मामिलामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी भएको हो । यससँगै उनलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन पनि आदेश दिइएको भारतीय सञ्चार माध्यमले जनाएको हो ।

सोनाक्षीमाथि सन् २०१९ मा दिल्लीको एक कार्यक्रममा सहभागी हुन ३७ लाख रुपैयाँ लिएको आरोप छ । पैसा लिएर सोनाक्षी कार्यक्रममा उपस्थित भइनन् । त्यसपछि उहाँले कार्यक्रम आयोजकको पैसा फिर्ता समेत गरेकी थिइनन्।

मुरादाबादको कटघर थाना इलाकाको शिवपुरी निवासी प्रमोद शर्मा ह्युइन्डिया फेसन एन्ड ब्यूटी अवार्डको नामले अर्थनाइजिङ फर्म चलाउँछन् । सोनाक्षी सिन्हा र उनीसँग सम्बन्धित इभेन्ट कम्पनीले उक्त फर्मलाई ३७ लाखको ठगी गरेका छन् ।

मुरादाबादको कटघर थाना इलाकामा बस्ने कार्यक्रमका आयोजक प्रमोद शर्माले कार्यक्रमको योजना बनाएका थिए । जसमा सोनाक्षीलाई प्रमुख अतिथिका रूपमा निम्तो दिइएको थियो । तर, अभिनेत्री भने कार्यक्रममा उपस्थित भइनन् ।

त्यसपछि कार्यक्रमका आयोजक प्रमोदले अभिनेत्रीसँग आफ्नो पैसा फिर्ता मागेका थिए । सोनाक्षीका प्रबन्धकले भने उनलाई पैसा फिर्ता दिन अस्वीकार गरेको आरोप छ ।

फरियादीका वकिल पिके गोस्वामीका अनुसार यो मामिलामा मुद्दा दर्ता गराएपछि मुद्दा मुरादाबाद कोर्टमा पुग्यो । त्यसपछि सोनाक्षी सिन्हाले मामिलामा हाइकोर्टबाट स्टे लिएकी थिइन् । त्यो स्टे लिएको ६ महिनाभन्दा बढी समय भइसकेको छ । सर्वोच्च अदालतको एउटा निर्णय अनुसार एक स्टे ६ महिनासम्म मात्रै वैध हुनसक्छ । त्यसपछि यो निष्क्रिय मानिन्छ । यो आदेशलाई ध्यानमा राख्दै मुरादाबादको एसिजेएम अदालतले सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी गरेको छ ।