१४ बैशाख २०८१, शुक्रबार

मित्र राष्ट्रको विरुद्धमा नेपाली भूमि प्रयोग हुन दिँदैनौ : प्रवक्ता कार्की

gyanandra bahadur karki

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन सहयोग गर्ने सत्ता गठबन्धनका दलहरू र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई धन्यवाद ज्ञापन गरेको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको भूमि छिमेकी राष्ट्रको विरुद्धमा प्रयोग हुन नदिने बताउनुभयो ।

मन्त्री कार्कीले नेपालको परराष्ट्र नीतिको मर्म अनुरूप छिमेकी मित्र राष्ट्रहरू भारत एवं चीन लगायतका कुनै पनि मित्र राष्ट्रको विरुद्धमा नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेको प्रष्ट पार्नुभयो ।

यसैगरी सरकारले पेट्रोलियम पदार्थ र ग्याँसका विषयमा नेपाल भारतबीचको संयुक्त कार्यदलको बैठकमा नेपाली पक्षको नेतृत्व गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्री कार्कीले जानकारी दिनुभयो ।

मन्त्री कार्कीले विभिन्न प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गरेको छ ।

सरकारले विक्रम संवत् २०७९ मा दिइने सार्वजनिक, सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने जनाएको छ । साथै सरकारले रेडियोधर्मी नियमावली, २०७८ समेत स्वीकृत गरेको छ ।