१५ चैत्र २०८०, बिहीबार

सुनसान वीरेन्द्रनगर निषेधाज्ञापछि

surkhet dao

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ ।

कर्फ्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् ।

प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ ।

सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो ।

समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कफ्र्यु जारी गर्नुभएको हो ।

कफ्र्यु जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताले सोमबार साँझ नेकपा (एमाले), नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र)का कार्यालय तोडफोडका साथै मङ्गलगढी चोक र एरिचोकमा रहेका प्रहरी बिटमा आगजनी गरेका थिए ।