७ बैशाख २०८१, शुक्रबार

कुलपतिबाटै असहयोग त्रिविकाे तालाबन्दी हटाउन

tribhuvan university 1

त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्नका लागि पहल गर्न अनुनय विनय गर्दा समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । तीन पदाधिकारीले प्रम कार्यालय र मन्त्रालयमै गएर कुलपति र सहकुलपतिलाई तालाबन्दी खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

शिक्षामन्त्री एवं सहकुलपति पौडेलले त्रिविभित्रको समस्या पदाधिकारीबाटै हल गरिनुपर्ने बताउँदै आएका छन् । प्रम एवं कुलपति देउवाले भने करिब एक महिनादेखि नै यो विषयमा आफू जानकार रहेको भन्दै चाँडै समस्या समाधान गर्ने आश्वासन दिएका थिए  । तर अहिलेसम्म ताला खुल्न सकेको छैन । यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।