१४ बैशाख २०८१, शुक्रबार

ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल अझै प्रकाशित भएन, हजारौँ विद्यार्थीमा अन्योलमा

tu balkhu

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्।

परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ।

नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।

शैक्षिक सत्र २०७६/०७७ सालको स्नातक तहअन्तर्गत प्रथम वर्षको परीक्षामा सहभागी भएका विद्यार्थीले अहिले भर्खरै मात्र दोस्रो वर्षको परीक्षामा सहभागिता जनाइरहेका छन् तर पहिलो वर्षको परीक्षाफल प्रकाशित नहुँदा अबको तयारी के गर्ने भन्ने दुविधा बढेको छ।

तेस्रो वर्षको कक्षामा सहभागी हुँदै गर्दा पहिलो वर्षको परीक्षामा उत्तीर्ण वा अनुत्तीर्ण भएको यकिन नहुँदा अध्ययन भार बढेको स्नातक तहका विद्यार्थी जशवन्त पौडेलले बताउनुभयो।

“पहिलो वर्षको विद्यार्थी तेस्रो वर्षको पाठ्यक्रम अध्ययन गर्न थालिसके,” उहाँले भन्नुभयो, “पहिलो वर्षको परीक्षाफल कस्तो आउने हो भन्ने जानकारी छैन। परीक्षामा उत्तीर्ण नै भइएको छ भने त ठीकै होला तर अनुत्तीर्ण भएको रहेछ भने त कसरी तीन तहको परीक्षाको तयारी गर्नु ?”

उता क्याम्पसहरूले भने कोरोनाका कारण शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै चार सेसन अध्यापन गराउनुपर्नेमा पाँच सेसन गराइरहेका छन्।

महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस, विराटनगरका प्रमुख डाक्टर बाबुराम तिम्सिनासमेत त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुहुन्छ।

समयमा परीक्षाफल प्रकाशित नहुँदा विद्यार्थी तथा अभिभावकमा मानसिक तनाव बढेको बताउनुहुँदै तिम्सिना भन्नुहुन्छ, “विश्वविद्यालयमा रहेको चरम राजनीतिक खिचातानीका कारण आफ्नो मान्छेलाई क्षमताभन्दा धेरै उत्तरपुस्तिका परीक्षणका लागि दिने गरेका कारण समयमा नतिजा प्रकाशन नहुने गरेको हो।” डाक्टर तिम्सिना भन्नुहुन्छ, “कर्मचारीको लापरबाहीका कारण विद्यार्थीको अघिल्लो अध्ययन क्षेत्रमा गम्भीर असर पुगेको छ भने अभिभावकमा चिन्ता थपिदिएको छ।”

त्रिविविको परीक्षाफल तीन महिनाभित्रमा निकाल्नुपर्ने दायित्वबाट कोही पनि पन्छन नमिल्ने बताउँदै उहाँले अनेकौँ समस्या देखाएर विद्यार्थीको भविष्य अन्धकार बनाउनु गलत रहेकोसमेत बताउनुभयो।

अर्कोतर्फ त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चलले भने कोरोना महामारीमा बन्दाबन्दीका कारण परीक्षा हलसम्म पुगेर परीक्षा दिन सम्भव नभएका कारण पायकपर्ने स्थानबाट परीक्षा दिने सुविधासमेत उपलब्ध गराएको र निश्चित परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन नभएका कारण कति विद्यार्थी कहाँ कहाँबाट परीक्षामा सहभागी भए भन्ने तथ्याङ्क सङ्कलन गर्न र उत्तरपुस्तिका मिलाउन समय लागेका कारण ढिलाइ भएको जनाएको छ।

कार्यालयका पूर्वाञ्चलका सह–परीक्षा नियन्त्रक नन्दकुमार न्यौपानेका अनुसार त्रिविविको नियमानुसार २७ दिनमा चार सय उत्तरपुस्तिका जाँच गर्न पाउने व्यवस्था रहेकोमा एकै जनालाई धेरै उत्तरपुस्तिका दिन वा जाँच्न सहज नभएको बताउनुहुन्छ।

“परीक्षाफल प्रकाशनको अन्तिम तयारीमा रहेका छौ,” उहाँले भन्नुभयो, “विद्यार्थीको भविष्यको विषयमा हामी चिन्तित छौँ। यो महिनाको अन्त्यसम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारीका साथ त्रिविले कार्य गरिरहेको छ।’’