१३ बैशाख २०८१, बिहीबार

पल शाहविरुद्ध गैँडाकोटमा अर्को जाहेरी दर्ता

paul shah

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी जाहेरी दर्ता भएको छ ।

गैँडाकोट क्षेत्रमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपुरमा अर्को किटानी जाहेरी दिएकी हुन् । आज (आइतबार) दिउँसो आफन्तहरूसहित ती गायिकाले प्रहरी कार्यालयमा पुगेकी छन् । उनी अहिले पनि प्रहरी कार्यालयमा रहेकी छन् ।

तनहुँमा पलविरुद्ध किटानी जाहेरी दर्ता गराएका पीडितका बुवाले आइतबार नवलपरासीको गैडाकोट प्रहरी कार्यालयमा पनि किटानी जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

पलले चितवन र नवलपरासीमा पनि नाबालिगलाई बलात्कार गरेको आरो पछ । जाहेरी दिने पीडितका बुबाले छोरीमाथि पलले जबरजस्ती मादक पदार्थ सेवन गराएर बलात्कार गरेको बताएका छन् । 

इलाका प्रहरी कार्यालय गैंडाकोटमा गराइएको जाहेरीमा नाबालिका छोरीलाई प्रेम गरेको झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । आज (आइतबार) शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् । 

अपडेट

नवलपुरस्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि १७ वर्षीया गायिकाको भरतपुर अस्पतालमा स्वास्थय परीक्षणकोतयारी भइरहेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप गिरीले पलविरुद्ध जाहेरी दिएकी युवतीको स्वास्थ्य परीक्षणका लागि चितवनस्थित भरतपुर अस्पतालमा पठाईएको जानकारी दिए ।

उनले इप्रका गैंडाकोटमा किटानी जाहेरी परेकाले सोही अनुसार अनुसन्धानको प्रक्रिया अघि बढाईएको बताए । ‘घटनास्थल भनिएको गैंडाकोट रिसोर्टमा मुचुल्का उठाई सकेका छौं, स्वास्थ्य परीक्षण पश्चात बाँकी प्रक्रिया अघि बढाउँछौं’–प्रवक्ता गिरीले भने ।

गैंँडाकोट–५, स्थित गैंडाकोटको एक रिसोर्टमा बलात्कार गरेको भन्दै पीडित नाबालिका गायिकाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा आज दिउँसो किटानी जाहेरी दिएकी हुन् ।