१५ चैत्र २०८०, बिहीबार

दाहाललाई अल्टिमेटम दिएपछि देउवा निर्णायक वार्ताका लागि ओली भेट्न बालकोट जाँदै

kp deuba 2

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो ।

उहाँहरुबीच एमसीसी लगायतका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज अपराह्न ५ बजे भेटवार्ता हुने बताइएको छ । यसअघि ३ बजेनै उहाँहरुबीच भेटवार्ता हुने तालिका थियो ।

दुई पक्षबीच आन्तरिक छलफल गर्नुपर्ने कारण देखाउँदै ५ बजेलाई सारिएको हो । यतिबेला कांग्रेस र एमाले दुवै पक्षका नेताहरु बालकोट पुगिसक्नु भएको छ भने प्रधानमन्त्री देउवा केहीबेर पछि पुग्ने बताइएको छ ।

केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले एमसीसी बारे संस्थागत धारणा बनाउन सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिइसक्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच हिजो शुक्रबार भएको भेटमा देउवाले एमसीसीबारे आज दिउँसो तीन बजेसम्ममा पार्टीको संस्थागत धारण सार्वजनिक गर्न प्रचण्डलाई अल्टिमेम पनि दिनुभएको थियो ।