२ जेष्ठ २०८१, बुधबार

राजधानी किभमा रुसी सेना प्रवेश, सडकमै भिडन्त जारी

ukraine war

रुसी सेना युक्रेनको राजधानी किभमा पुगेका छन् । किभको सडकमा रुसी सेना पुगेसँगै भिडन्त सुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।

‘हाम्रो सहरको सडकमा भिडन्त भइरहेको छ’, समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरन्डामा ननिस्कन चेतावनी दिएको छ ।

समाचार अनुसार रुसले युक्रेनमा आक्रमण जारी राखेको छ । रुसी सेना युक्रेनको राजधानी भेगमा पुगेपछि ठूलो सङ्घर्ष भइरहेको जनाइएको छ । रुसी सेनाले त्यहाँको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

बीबीसीका अनुसार युक्रेनमाथि आक्रमण गरेपछि रुसी सेना विभिन्न मोर्चाबाट अगाडि बढिरहेको छ । तर युक्रेनले रुसी सैनिकहरूको प्रतिकार गरिरहेको जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्सकीले रुसी सैनिकहरूले राजधानीमा आक्रमण गर्ने बताएको केही घण्टामै उक्त खबर आएको हो ।

आक्रमणकाविरुद्ध अमेरिका, इयू, यूके र क्यानडाले पुटिनमाथि प्रतिबन्धहरू लगाएका छन् ।

युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसी सेनालाई ब्यारेकमा फर्किन अपिल गरेका छन् ।