२१ बैशाख २०८१, शुक्रबार

मोरङको लेटाङमा गाडेको अवस्थामा बालिकाको निर्वस्त्र शव फेला, स्थानीयबाट नाराबाजी र प्रदर्शन

death 1 20220225053820

मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा शुक्रबार बिहान एक बालिकाको शव फेला परेको छ ।

लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको डीएसपी मुकारुङले बताए । उनका अनुसार बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला परेको मुकारुङको भनाइ छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोली अहिले घटनास्थलमा छ । अर्याल नेतृत्वकै टोलीले गाडेको स्थान पत्ता लगाएर शव उत्खनन गरेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीको छ ।

karuna rai

घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुईजना पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका पुरुष ६४ र ४७ वर्षका छन् ।

प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको छ । चार/पाँच सयको संख्यामा भेला भएका स्थानीयले आक्रोसित हुँदै नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

बलात्कारपछि हत्या गरेर बालिकाको शव गाडिएको भन्दै आफन्त र स्थानीयले दोषीमाथि कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ ।

प्रहरीका अनुसार जाते माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत बालिका बुधबार दिउँसो हराएकी थिइन् । स्कुल गएकी छोरी घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा शुक्रबार शव गाडेको अवस्थामा फेला परेको हो । घटनास्थलबाट बालिकाको घरबाट करिब ३ किलोमिटर टाढा पर्छ ।

तर घटनास्थलमा जम्मा भएको भीड र प्रदर्शनका कारण अवरोध पुगेपछि प्रहरीले शव पोस्टमार्टमका लागि लैजान पाइरहेको छैन । घटनास्थलमा भेला भएका स्कुले विद्यार्थीहरु आफ्नी साथीको हत्या भएको देखेपछि भावविह्वल र त्रसित बनेका छन् ।

    सम्बन्धित समाचार...