१६ चैत्र २०८०, शुक्रबार

खोजीको सुचिमा रहे अभिनेता पल शाह, सिआइबीसहितका प्रहरीका पाँच टोली खटियो

paul shah
फाइल फोटो

अभिनेता पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् ।

प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन् । तनहुँमा घटना घटेकाले त्यही पुगेर समिक्षाले जाहेरी दिएकी हुन् । प्रहरीले जाहेरी लिएसँगै अनुसन्धानका लागि पहल शाहलाई पक्राउको तयारी भएको बुझिएको छ ।

पल शाहलाई तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुन भनिने र नआए पक्राउको तयारी गरएको बुझिएको छ ।

बलात्कारको जाहेरी दर्ता भएपछि सीमित व्यक्तिको सम्पर्कमा रहेका अभिनेता पलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो लगाएका टोली खटिएका छन्। तर उनलाई फेला पार्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएसँगै पक्राउका लागि सबै जिल्लामा सर्कुलर भएको थियो। पल काठमाडौँ उपत्यकामा रहेकाले उनको खोजी अहिले काठमाडौँ र ललितपुर क्षेत्रमा भइरहेको छ। कीर्तिपुरमा फिल्म ‘म यस्तो गीत गाउँछु-२’ को प्रिमियर शोमा आउने आशङ्कामा प्रहरी त्यहाँ पनि पुगेको थियो। तर पल त्यहाँ गएनन्।

१७ वर्षकी समिक्षामाथि पलले शारीरिक सम्पर्क गरेको अडियो समेत सार्वजनिक भइसकेको छ । घटनाका बेला उनी अझ कम उमेरको भएको विषय आइरहेको छ ।

सुटिङको क्रममा पोखरा गएको बेलामा होटलमा बस्दा अभिनेता शाहले जवर्जस्ती गर्न खोजेको र पछि प्रतिवाद गरेपछि छाडेको,पछि लागेको लाग्यै गरेर माया गर्छु,बिहे गर्छु भनेर शारीरिक सम्बन्ध बनाएपछि पछि धोका दिएको र प्रहरीमा उजुरी गर्न जाँदा परिवारहरूसाथ बसेर विवाह गर्ने वाचा गरेको नाबालिग गायिकाको अडियो सार्वजनिक भएको छ। अडियोमा गरिएको दाबी अनुसार त्यो बेलामा उनको उमेर साढे १६ मात्र थियो। नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतीमै समेत शारिरिक सम्बन्ध राख्नु बलात्कार हो।

एक वयस्क उमेरका अभिनेताले एक नाबालिगलाई विवाहको प्रलोभन देखाएर गरेको यौन शोषण सार्वजनिक भएपछि पलको आलोचना बढ्दै थियो। उनले फेसबुकमा अपिल राखेर ‘आफ्ना प्रतिष्पर्धीहरुले उचालेको, अडियोमा भएको आवाजै नक्कली भएको, आफुसविरुद्ध नाबालिगलाई प्रयोग गरेको’ जस्ता दाबी गरे।

ती गायिका आफुसविरुद्ध जान सक्ने भन्दै उनले आफैँसँग राखेका थिए। मङ्गलवार उनी पोखरा घर गएर फ्रेस हुने भन्दै पलको पञ्जाबाट उम्किएर पोखरा पुगेपछि घर सल्लाह अनुसार बुधवार तनहुँ गएर प्रहरीमा जाहेरी दिइन्।

पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुर खटिएको छ।

उनी आफैँ तनहुँ गएर सरेन्डर गर्ने भनिए पनि उनले काठमाडौँ छाडेका छैनन्। उनी काठमाडौँभित्रै बसेर कानुनी परामर्श लिइरहेको उच्च स्रोतले बताएको छ।

नाबालिगमाथि यौनजन्य क्रियाकलाप गरेमा कानून अनुसार बलात्कार सरहको सजाय हुने गर्छ । विकसित मुलुकहरुमा यस्तो विषयलाई गम्भीर अपराध मानिन्छ ।

हालैमात्र बेलायतका राजकुमार एन्ड्रीउले दुई दशक अघि एकजना नाबालिगमाथि यौनजन्य क्रियाकलाप गरेकोमा ठूलै मूल्य चुकाउनुपरेको थियो । उनले पछि ठूलो धनराशी क्षतिपूर्ति दिएर मिलापत्र गराएका थिए ।